प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेशस्तरीय खेलकूद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । फाइलनमा प्रदेश १ लाई ८ विकेटले पराजित गर्दै सदूरपश्चिम च्याम्पियन बनेको हो ।
टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश १ ले दिएको ११६ रनको लक्ष्य आयोजक सुदूरपश्चिमले १७ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । सुदूरपश्चिमलाई जित दिलाउने क्रममा कविता कुँवरले सर्वाधिक नटआउट ३९ रन बनाइन् ।
यस्तै रेवती धामीले ३० रन बनाउँदा विन्दु रावलले २३ रन बताउँदै नटआउट रहिन् । यस्तै ओपनर रुवी पोद्दारले १२ रनको योगदान दिइन् ।
यसअघि प्रदेश १ ले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा ११६ रन बनाएको थियो । उसका लागि रोमा थापाले सर्वाधिक नटआउट ४१ रनको योगदान दिइन् ।
यस्तै काजोल श्रेष्ठले २०, रुविना क्षेत्रीले १४, अप्सरा बेगमले नटआउट १७ रनको योगदान दिइन् । सुदूरपश्चिमकी जानकी भट्ट र ईश्वरी विष्टले एक–एक विकेट लिए ।
प्रदेश ५ तेस्रो भयो । उसले प्रदेश ३ लाई २२ रनले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।
सुदूरपश्चिमकी कविता कुँवर ‘प्लेयर अफ दी सिरिज’ भइन् । यस्तै, ईश्वरी विष्ट उदीयमान खेलाडी बनिन् भने प्रदेश १ की रोमा थापा उत्कृष्ट ब्याट्समायन र प्रदेश ५ की कृतिका मडासैनी उत्कृष्ट बलर घोषित भइन् ।