सुदूरपश्चिम यू–१९ राष्ट्रिय क्रिकेटको फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग खेल्ने

सुदूरपपश्चिम प्रदेश राजनधानीमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको लिगको अन्तिम खेलमा बागमति प्रदेशलाई ८ विकेटले हराउँदै सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरेको हो।

प्रदेशका ७ टिम सहभागी प्रतियोगिताको लिग चरणमा सुदूरपपश्चिम ६ खेलमा ४ जितसहित ८ अंक जोड्दै दोस्रो टिमका रुपमा नकआउट चरण प्रवेश गरेको हो। प्रतियोगितामा सदूरपश्चिमले प्रदेश १ लाई ६ विकेट, गण्डकीलाई ४ विकेट र कर्णालीलाई १० विकेटले हराएको थियो । ऊ लुम्बिनी र प्रदेश २ सँग समान २ विकेटले पारजित भएको थियो।

अब उसले उपाधिका लागि लुम्बिनी प्रदेशसँग खेल्ने छ। लुम्बिनी १० अंक जोड्दै समूह विजेताका रुपमा फाइनल पुगेको हो। लुम्बिनी र सुदूरपश्चिमबीचको फाइलन आइतबार कीर्तिपुरसिथत टियू मैदानमा हुने छ।

टियू मैदानमा पहिला ब्याटिङ गर्दै बागमतीले दिएको ९६ रनको लक्ष्य सुदूरपश्चिम ३२.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो। उसका लागि नरेन भट्टले अविजित ३७ रन बनाए भने राहुल भण्डारीले अविजित ३१ रन बनाए। बागमतीका गौतम केसी र प्रतिश जिसीले समान एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमती ३०.१ ओभरमा अलआउट हुँदै ९५ रन मात्र बनाउन सक्यो । उसका लागि विवेक मगरले नटआउट ३२ रन बनाए भने क्रिस कार्कीले १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बागमतीलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका हेमन्त धामीले ५ विकेट लिए । घातक बलिङ गरेका उनले १० ओभरमा ५ मेडन राख्दै १९ रन मात्र खर्चिए। शेर मल्लले ४ विकेट लिए ।