साउथह्याम्पटनमा भएको दोस्रो खेलमा भ्रमणकारी टिम अस्ट्रेलियालाई पराजित गर्दै इंल्ग्यान्डले टि–२० जितेको छ । आइतबार राति भएको खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले तीन खेलको टि–२० सिजन एक खेल अगावै जितेको हो ।
साउथह्याम्पटनमै भएको पहिलो टि–२० मा इंग्ल्यान्डले २ रनको रोमाञ्चक जित निकालेको थियो । तेस्रो खेल ८ सेप्टेम्बरमा साउथहयम्पटनमै हुने छ ।
पहिला ब्याटिङ गर्दै अस्ट्रेलियाले दिएको १५८ रनको लक्ष्य इंग्ल्यान्डले १८.५ ओभरमा ४ विकेट गमाउँदै भेट्टायो । इंग्ल्यान्डको जितमा जोस बट्लरले नटआउट ७७ रन बनाए भने डेविड मलानले ४२ रनको योगदान दिए ।
ओपनिङमा आएका बट्लरले ५४ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे भने मलानले ३२ बलमा ७ चौका प्रहार गरे । अस्ट्रेलियाका एस्टन अगरले २ तथा एडम जम्पा र मिचेल स्टार्कले समान १ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेटको क्षतिमा १५७ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ४४ रन बनाए भने मार्कस स्टोइनिसले ३५, ग्लेन म्याक्सवेलले २६ र अगरले २३ रन बनाए । इंग्ल्यान्डका क्रिस जोर्डनले २ तथा जोफ्रा आर्चर, मार्क उड र अदिल रसिदले समान १ विकेट लिए ।
इंग्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले टि–२० सिरिज पछि ३ खेलको एकदिवसीय सिरिज पनि खेल्ने छ।