पूर्वभारतीय विस्फोटक ब्याट्सम्यान सुरेश रैनाले यो सिजनको आईपिएल नखेल्ने भएका छन् । गत साता टिमसँगै युएई पुगेका रैना पारिवारिक कारण देखाउँदै भारत फर्किएपछि आईपिएल नखेल्ने भएका हुन् ।
चेन्नई सुपर किंग्सले ट्विटर मार्फत सुरेश रैना सेप्टेम्बर १९ बाट सुरु हुने आईपिएल खेल्ने जनाएको छ । क्लबका सबैभन्दा उत्कृष्ट ब्याट्सम्यान टिममा उपलब्ध नहुने भएपछि चेन्नईलाई ठूलो घाटा भएको छ ।
चेन्नईले ट्विटरमा लेखेको छ, ‘रैना निजी कारणले भारत फर्किएका छन् । अब उनी आईपीएलको बाँकी सत्रका लागि उपस्थित हुने छैनन् । चेन्नई सुपर किंग्स सुरेश र उनको परिवारलाई पूर्ण रुपमा समर्थन गर्दछ ।’
सुरेश रैना चेन्नईका सबैभन्दा सफल ब्याट्सम्यान हुन् । उनले चेन्नाईबाट १९३ खेल खेल्दै ५३६९ रन बनाएका छन् । रैनाले १ शतक र ३८ वटा अर्धशतक प्रहार गरेका छन् । चेन्नईले ३ पटक आईपिएलको उपाधि जितेको छ ।
शुक्रबार मात्र चेन्नईका खेलाडीसहित १० जनामा कोरोना संक्रमण देखिएको थियो । सोही कारणले शनिबारबाट हुने भनिएको चेन्नईको अभ्यास पनि रोकिएको छ ।
रैनाले अगस्ट १५ मा महेन्द्रसिंह धोनीसँगै राष्ट्रिय टोलीबाट सन्यास लिएका थिए ।