
बैंककबाट नेपाली बक्सर सुष्माले भनिन्– नेपाललाई स्वर्ण दिलाउनेगरी फाइनल खेल्छु
नेपाली बसिक्सङ खेलाडी सुष्मा तामाङ नेपाललाई ऐतिहासिक पदक दिलाउनबाट एक कदम मात्र पछि छिन्। थाइल्यान्डको बैंककमा जारी यू–२२ बक्सिङ च्याम्पियनसिपमा सुष्मा फाइनलमा पुगेकी छिन्।
यो प्रतियोगितामा नेपाली खेलाडी फाइनल पुगेको पहिलो पटक हो। महिला ४८ केजी तौल समूहमा ऐतिहासिक स्वर्णका लागि सुष्माले बुधबार उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग खेल्नेछिन्।
सुष्माले नेपाललाई स्वर्ण दिलाउने गरी फाइनलमा प्रतिस्पर्धा गर्ने बताएकी छिन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङसँगको कुराकानीमा सुष्माले विपक्षी खेलाडीको खेल नियालिरहेको बताउँदै बुद्धिमतापूर्ण खेल खेल्दै नेपाललाई ऐतिहासिक स्वर्ण दिलाउने बताइन्।
खेलाडीको हौसला बढाउने सदस्य सचिव घिसिङले सुष्मासँग कुराकानी गरेका थिए। कुराकानीमा सुष्मामाले भनेकी थिइन्, ‘ उज्वेकिस्तानकी खेलाडी पनि म जस्तै डिफेन्सिभ र एट्याकिङ दुवै खेल्छिन्। उनको खेल नियालेकी छु, अगाडि बढेर बूद्धिमानीपूर्वक खेल्ने मेरो स्ट्रेटेजी छ।’
उनले सुष्मालाई फाइनलका लागि शुभकामना दिएका थिए। सुष्मा फाइनल पुगेको विषयमा प्रधानमन्त्रीलाई पनि जानकारी गराएको घिसिङले बताएका थिए। ‘फाइनल पुगेकोमा सिंगो देश र म एक्दमै खुशी र उत्साहित छु । खेलकुदको माध्यमबाट सिंगो देशलाई खुशी बनाएकोमा आभारी छु,’ उनले सुष्मालाई भनेका थिए, ‘राष्ट्रलाई स्वर्ण दिलाउने मैले विश्वास गरेको छु । सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि मैले यस बारे जानकारी गराएको छु । उहाँ पनि निकै उत्साहित हुनुहुन्छ । फाइनलका लागि धेरै धेरै शुभकामना । म लाइभ हेरिरहेको हुनेछु ।’