समाचार

इजरायलमा हुने विश्व जुनियर च्याम्पियनसिपमा सहभागी हुने पौडी टोलीको विदाई

काठमाडौं । इजरायलको नेतन्यामा आयोजना हुने वल्र्ड अक्वाटिक वल्र्ड जुनियर स्विमिङ च्याम्पियनसिप २०२३ मा नेपाली टोली पनि सहभागी हुने भएको छ। च्याम्पियनसिपमा सहभागी हुने नेपाली पौडी टोलीलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुभकामना सहित बिदाई गरे।

टोलीको बिदाई गर्दै सदस्य सचिव घिसिङले खेलाडीले पुरानो इतिहासलाई हेरेर रमाउने नभइ आफैले नयाँ इतिहास कोर्नु पर्ने बताए। घिसिङ्गले खेलाडीहरुका लागि सहज बातावरण श्रृजना गर्न आफु हर समय लागि परेको बताए।

भदौ १८ देखि २३ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीको ब्यवस्थापकमा जेनीफर लामा र प्रशिक्षकमा पौडीका प्रमुख प्रशिक्षक शंकर कार्की रहेकाछन्।

यस्तै खेलाडीहरुमा अजलकाजी ताम्राकार (५० मिटर बटरलाई र फ्रिस्टायल), इरभिन श्रेष्ठ (१०० र २०० मिटर फ्रिस्टायल), अल्भिन महर्जन (५० मिटर बटरलाई र १०० मिटर फ्रिस्टायल), उपास्ती महर्जन (५० र १०० मिटर ब्रेष्टस्ट्रोक), रोशा न्यौपाने (५० र १०० मिटर फ्रिस्टायल) र टिशा महर्जन (५० मिटर ब्याकस्ट्रोक र १०० मिटर फ्रिस्टायल) रहेका छन्।

विदाई कार्यक्रममा संघका अध्यक्ष अशोक बज्राचार्य लगायतको उपस्थिति रहेको थियो। नेपाली टोली भोलि बिहान ७ बजे इजरायल तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।