अस्ट्रेलियाले भंग गर्ला पाकिस्तानको लय ?

आईसीसी टि–२० विश्वकपको दोस्रो सेमिफाइनलमा आज अस्ट्रेलियाले सानदार लयमा रहेको पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। पाकिस्तान सुपर १२का पाँचावटै खेल जित्दै सेमिफाइनल पुगेको हो भने अस्ट्रेलियाले नेट रनरेटमा दक्षिण अफ्रिकालाई माथ दिँदै सेमिफाइनल पुगेको हो।

अस्ट्रेलियाले लगातार तीनसहित पाँचपल्ट एकदिवसीय विश्वकप उपाधि जितेको छ । तर, अहिलेसम्म छपल्टको प्रयासमा टि–२० को उपाधि जित्न असफल छ । बायाँहाते डेभिड वार्नरले वेस् इन्डिजमाथिको जितमा नटआउट ८९ र श्रीलंकाविरुद्ध ६५ रनको विष्फोटक इनिङ्स खेलेका थिए । यो इनिङ्सबाट उनी आफ्ना आलोचकहरूको मुख बन्द गराउन सफल रहे ।

एडम जाम्पा प्रतियोगितामा दोस्रो सर्वाधिक ११ विकेट लिने बलर हुन् । २९ वर्षीय यी स्पिनरले आफ्नो जिम्मेवारी निर्भीकताका साथ निभाएका छन् । यो अस्ट्रेलियाको सबल पक्ष हो।

पाकिस्तानको टोलीमा अस्ट्रेलियाका पूर्वओपनर म्याथ्यु हेडेन, जो ब्याटिङ प्रशिक्षक हुन् । उनले कप्तान बाबर आजम र मोहम्मद रिजवानको जोडीलाई जबर्जस्त स्थापित गराएका छन् । बाबर सेमिफाइनलअघिसम्म सर्वाधिक रन (२६४) बनाउने ब्याट्सम्यान हुन् । दुबईमा भारतलाई १० विकेटले हराउँदा बाबर र रिजवानले १ सय ५२ रनको नटआउट साझेदारीसाथ विश्वकप सुरुआत गरेका थिए ।

पाकिस्तानले आसिफ अलीको रूपमा एउटा सानदार फिनिसर पाएको छ । जसले अफगानिस्तानका बलर करिम जन्नतलाई लगातार चार छक्का प्रहार गरी अन्तिम ओभरमा आवश्यक २५ रन बटुलेका थिए ।

स्कटल्यान्डविरुद्धको पछिल्लो खेलमा १८ बलमा नटआउट ५४ रन बनाएका भेट्रान ब्याट्सम्यान सोएब मलिक र मोहम्मद हाफिजको अनुभवले उनीहरूको ब्याटिङक्रम सशक्त बनाएको छ । नयाँ बलमा साहिन अफ्रिदीको खतरनाक लयका कारण पाकिस्तानले सन् २००९ पछि यो फम्र्याटको विश्वकप जित्नसक्ने आशा राखिएको छ ।