विश्व टेबलटेनिस छनोटमा नेपाली घरको साथ

विश्व टेबलटेनिस च्याम्पियन्सीपको क्षेत्रीय छनोट साउथ एसियन रिजनल च्याम्पियन्सिप– २०२० का लागि अखिल नेपाल टेबलटेनिस संघ र नेपाली घरबीच बुधबार प्रायोजन सम्झौता भएको छ।

साउथ एसियन रिजनल च्याम्पियन्सिप मङ्सिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुनेछ । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य र नेपाली घरका प्रबन्ध निर्देशक राजु श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदानप्रदान गरे।

सो सम्झौताअनुसार नेपाली घरले प्रतियोगितामा भाग लिने खेलाडीहरुका लागि खान, बस्नका लागि करिब ३ लाख रुपैयाँ बराबरको सहयोग गर्नेछ।

अध्यक्ष चतुरानन्द राजवैद्यले नेपालीपन भएको होटल र प्रतियोगितास्थलको नजिक भएकोले नेपाली घरलाई चयन गरेको बताए। नेपाली घरका प्रबन्ध निर्देशक श्रेष्ठले नाफा नोक्सानभन्दा नेपाली खेलकुदलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रायोजन गरेको बताए।