
टिटिको क्षेत्रीय छनोटमा नविता, संयोग र विनेशको विजयी सुरुवात
विश्व टेबलटेनिस च्याम्पियन्सीपको क्षेत्रीय छनोट साउथ एसियन रिजनल च्याम्पियन्सिप सुरुवात भएको छ। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरुवात भएको खेलमा पहिलो दिन नेपालका तीन खेलाडीले विजयी सुरुवात गरे।
पुरुषतर्फ संयोग कपाली र बिनेश खनियाले विजयी सुरुवात गरे। समूह डी को खेलमा संयोगले बंगलादेशका नाफिज इक्बालाई सोझो सेटमा पराजित गर्न सफल भए । संयोगले ११–६, ११–६ र ११–९ ले जित निकाल्दै दुई अंक जोडे।
यसैगरी बिनेशले बंगलादेशका फहाद खवाजालाई ३–२ को सेटमा पराजित गरे। उनले ११–८, ९–११, ३–११, ११–६, ९–११ ले जित निकाल्दै विजयी सुरुवात गरे। समूह एफ मा विनेश दुई अंक सहित शीर्षस्थानमा छन्।
महिलातर्फ नबिता श्रेष्ठले श्रीलंकाकी तमादी काभिध्यालाई सोझो सेटमा पराजित गरिन्। सहज जित निकाल्नेक्रममा नविताले ११–३, ११–९ र ११–१० ले जित हासिल गरेकी हुन्।
पुरुषतर्फ समूह ए को खेलमा नेपालका शिब सुन्दर गोथे भारतका सनिल शंकर सेटीसँग सोझो सेटमा पराजित भए। यसैगरी समूह सी नेपालका रुविन महर्जन पाकिस्तानका मोहम्मद शाह खानसँग ३–२ को सोझो सेटमा हार बेहोरे। निकै नै प्रतिस्पर्धात्मक बनेको समूह इ मा नेपालका प्रदीप रोका पाकिस्तानका फैजान जाहूरसँग ३–२ सेटले पराजित भएका थिए।
महिलातर्फको खेलमा इभाना थापा पहिलो खेलमा भारतकी रीथ रिस्या टेनिसनसँग ३–० को सोझो सेटमा पराजित भइन् । इभानाले खेल ११–२, ११–५ र ११–४ ले गुमााइन्। समूह सीमा दुबै खेल जितेकी भारतीकी रीथले चार अंक जोड्दै शीर्षस्थानमा रहिन्।
यसैगरी रविना महर्जन समेत समूह डी को खेलमा श्रीलंकाकी कसुनी हिमाया पिटिगालासँग ३–१ ले पराजित भइन् । समूह इ मा सिका सुवाल श्रेष्ठले भारतकी दिया पाराङ चितलसँग ३–० कै सोझो सेटमा पराजित भइन्। यसैगरी समूह जी मा एलिना महर्जन श्रीलंकाकी महीशा सिलन्दा गस्टसँग ३–० को सोझो सेटमा हार बेहोर्न पुगिन्।
साउथ एसियन रिजनल च्याम्पियन्सिप आजबाट सुरु भइ २५ मंसिरसम्म आयोजना हुनेछ। प्रतियोगितामा पुरुष तथा महिलातर्फका शीर्ष १६ खेलाडी एसियन च्याम्पियनसिपका लागि छनोट हुनेछन् । नेपालबाट पुरुष र महिलातर्फ पाँच पाँच खेलाडी सहभागी छन्।