दिल्लीलाई हराउँदै चेन्नई क्वालिफायरमा

दिल्ली क्यापिटल्सविरुद्ध ८० रनको सानदार जित निकाल्दै चेन्नई सुपर किंग्स १२औं संस्करणको आइपिएलको क्वालिफायरमा प्रवेश गरेको छ । एम चिदम्बरम स्टेडियममा बुधबार बेलुका भएको खेलमा शीर्ष स्थानको दिल्लीलाई पराजित गर्दै चेन्नईले क्वालिफायरमा स्थान सुरक्षित गरेको हो ।

लिगको १ खेल बाँकी छँदा चेन्नईको १८ अंक छ । अन्तिम खेल गुमाए पनि चेन्नई कम्ति दोस्रो हुन्छ । दोस्रो स्थानको दिल्लीको १६ र तेस्रो स्थानको मुम्बई इन्डियन्सको १४ अंक छ ।

पहिला ब्याटिङ गर्दै चेन्नईले दिएको १८० रनको लक्ष्यसहित पछ्याएको दिल्ली खराब ब्याटिङ गर्दै १६.२ ओभरमा अलआउट हुँदै ९९ रन मात्र बनायो ।

दिल्लीका लागि कप्तान श्रेयस एयरले ४४ तथा शिखर धवनले १९ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन् । दिल्लीलाई सस्तैमा रोक्न चेन्नईका इमरान ताहिर र रविन्द्र जडेजाले उत्कृष्ट बलिङ गरे । ताहिरले ४ विकेट लिए भने जडेजाले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनाएको थियो । चेन्नईका लागि सुरेश रैनाले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान महेन्द्र सिंह धोनीले अविजित ४४ रन जोड्दा फाप डु प्लेसिसले ३९ रन बनाए । रविन्द्र जडेजाले २५ रन बनाए ।