इंग्लिस प्रिमयिर लिगका खेलाडीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक गरिएको परिक्षणमा खेलाडी, स्टाफ गरी १० जनालाई कोरोना संक्रमण देखिएको प्रिमियर लिगले जनाएको छ ।
पछिल्लो चरणमा २१ सेप्टेम्बर देखि २७ सेप्टेम्बरसम्म कूल १ हजार ५९५ जना क्लबका खेलाडी र स्टाफमा कोरोना परीक्षण गरिएको थियो । त्यसमा १० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
पोजेटिभ देखिएकाहरुको परिचय भने खुलाइएको छैन । उनीहरु सबै अब १० दिनका लागि आइसोलेसन रहेको इपिएलले जनाएको छ । नयाँ सिजन सुरु भएपछि प्रिमियर लिगमा पहिलो पटक धेरै संख्यामा संक्रमित देखिएका हुन् ।
प्रिमियर लिगले साप्ताहिक रुपमा २० वटै क्लबको खेलाडी र स्टाफको परीक्षण गर्दै आएको छ । गत हप्ता वेस्टहमका प्रशिक्षक डेभिड मोयससहित दुई खेलाडीमा कोरोनाको संक्रमण देखिएको थियो ।