निर्धारित ५० ओभरमा नतिजा ननिस्किएपछि खेलको निर्णय सुपर ओभरबाट हुने नियम छ । सुपर ओभरमा पहिले ब्याटिङ गर्न आएको इंग्ल्यान्डले बेन स्टोक्स र जोस बटलरलाई ब्याटिङको जिम्मा दियो । ट्रेन्ट बोल्टले बलिङ गरेको सो ओभरमा स्टोक्स र बटलरले १–१ चौका प्रहार गरेपछि इंग्ल्यान्ड जम्मा १५ रन जोड्न सफल भयो ।
१६ रनको लक्ष्य पाएको न्युजिल्यान्डले जोफ्रा आर्चरको सामना गर्न मार्टिन गुप्टिल र जिमि नीसामलाई मैदानमा पठाएको थियो । दोस्रो बलमा नीसामले छक्का प्रहार गरेपछि न्युजिल्यान्ड २ बलमा ९ रन जोड्न सफल भयो । बाँकी ४ बलमा न्युजिल्यान्डलाई विश्व च्याम्पियन बन्न केबल ७ रन आवश्यक थियो ।
सुरुका ३ बलमा ५ रनमात्र जोडेपछि न्युजिल्यान्डलाई अन्तिम बलमा २ रन आवश्यक भयो । स्ट्राइकमा थिए अनुभवी ब्याट्सम्यान मार्टिन गुप्टिल । आर्चरको योर्कर गुप्टिलले डिप मिडविकेटतर्फ प्रहार गरे । पावरफुल सट नभएकाले बाउन्ड्री हुन सम्भव थिएन ।
अर्थात, विश्व च्याम्पियन बन्न न्युजिल्यान्डले दौडेरै २ रन पुरा गर्नु पर्ने थियो । दौडेर नभ्याउने देखेपछि गुप्टिलले डाइभ गरे । तर, डिप मिडविकेटमा रहेका फिल्डर जेसन रोयले फ्याँकेको बल विकेटकिपर बटलरले पनि डाइभ गर्दै समातेर गुप्टिललाई रन आउट गरे ।
अन्ततः न्युजिल्यान्डले पनि सुपरओभरमा १५ रन नै जोड्यो । खेल फेरि बराबरी भयो ।
तर, विश्वकपको नियमअनुसार यदि ५० ओभर बारबरी भएर खेलाइएको सुपर ओभर पनि बराबरी भएमा आफ्नो इनिङमा जुन टिमले सर्वाधिक बाउन्ड्री प्रहार गरेको छ उसलाई विजेता घोषणा गरिन्छ ।

न्युजिल्यान्डले ५० ओभरमा १४ चौका र २ छक्का गरि कुल १६ बाउन्ड्री प्रहार गरेको थियो । तर, इंग्ल्यान्डले भने २२ चौका र २ छक्का गरि कुल २४ बाउन्ड्री प्रहार गरेको थियो ।
अत्यन्तै प्रतिस्पर्धात्मक, रोमाञ्चक र नाटकीय खेलमा अन्ततः बाउन्ड्री संख्याका आधारमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई मात खुवायो र इतिहासमा पहिलोपटक विश्वकपको उपाधि जित्यो ।
र, क्रिकेटको घर भनेर चिनिने लर्ड्स मैदानमा सुनिइरहेको गित ‘इट्स कमिङ होम…’ परिवर्तन भएर ‘वि आर द च्याम्पियन्स…’ गुञ्जिन थाल्यो ।