‘तेस्रो हेलम्बु ट्रेल म्याराथन’ कात्तिक ६ गते हुने

हिमालयन स्पोर्टस क्लबले आगामी कात्तिक ६ गते ‘तेस्रो हेलम्बु ट्रेल म्याराथन’ प्रतियोगिता गर्ने भएको छ । क्लबले बुधबार पत्रकार सम्मेलन आयोजना गरी फुल म्याराथन, पाँच किमी खुला दौड, पाँच किमी वाकाथन गरी तीन विधालाई प्रतियोगितामा समावेश गरिएको जानकारी दिएको थियो ।

कात्तिक ६ गते कुटुमसाँगुबाट शुरु हुने म्याराथन स्नोफल माउन्टेन रिसोर्ट हेलम्बुमा पुगेर समापन हुने क्लबका अध्यक्ष छिरिङ लामाले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन फुल म्याराथनतर्फ ४५०० रुपैयाँ शुल्क तोकिएको छ भने पाँच किलोमिटर दौड र पाँच किलोमिटर वाकाथनमा सहभागि हुन १००० रुपैयाँ लाग्नेछ ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी करीब ५०० खेलाडीको सहभागिता रहने आयोजकको अपेक्षा छ । सो शुल्क तिरेबापत आयोजकले सहभागीलाई खाना र यातायात सुविधा उपलब्ध गराउनेछ । प्रतियोगिताको विजेतालाई २५,०००, दोस्रो हुनेलाई १५,००० र तेस्रो हुनेलाई १०,००० रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

हेलम्बुमा उच्च पर्वतीय खेलकूद तालीम केन्द्र स्थापना गरी नेपालको खेल क्षेत्र र खेल पर्यटनको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको संघीय सांसद शेरबहादुर तामाङले बताए ।