थ्री स्टारलाई रोक्दै एपिएफले खोल्यो अंकको खाता

विभागीय टिम एपिएफ क्लबले जारी सहिद स्मारक ए डिभिजन लिगमा अंकको खाता खोलेको छ। सुरुआती तीन चरणमा अंकबिहीन बनेको एपिएफले चौथो चरणमा अंकको खाता खालेको हो।

आइतबार भएको खेलमा उपाधि दाबेदार टिम थ्री स्टारलाई गोलरहित बराबरीमा रोक्दै एपिएफले अंक जोडेको हो। यता, यो बराबरीसँगै थ्री स्टारको उपाधि यात्रामा पनि धक्का लागेको छ । थ्री स्टारले ४ खेलमा ५ अंक मात्र जोडेको छ।

यसअघिका तीनै खेलमा पराजित भएपछि एपिएफले थ्री स्टारविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । उसले पहिलो हाफमा थ्री स्टारमाथि पूर्ण रुपमा दबाब बनाएको थियो । दोस्रो हाफमा भने थ्री स्टारले सुधारिएको खेल प्रदर्शन गरेको थियो । तर, खेलको अन्त्यतिर भने पुनः एपिएफले दबाब बनाएको थियो।

खेलमा दुवै टिमले गोलका राम्रा अवसर खेर फालेका थिए । थ्री स्टारका अनन्त तामाङ, कप्तान विक्रम लामा, राफयल रिमगागोले अवसर खेर फाल्दा एपिएफका आशिष लामा र मणिकुमार लामाले गोलको अवसर सदुपयोग गर्न सकेनन्।

पहिलो खेलमा एपिएफ ब्रिगेड ब्वाइजसँग ३–२ ले पराजित भएको थियो भने दोस्रो खेलमा च्यासल युथसँग १–० र तेस्रो खेलमा सातदोबाटोसँग ४–१ गोलले पराजित भएको थियो ।

त्यस्तै थ्रीस्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३–० जित निकाल्दा दोस्रो खेलमा सातदोबाटो युथ क्लबसँग १–० ले पराजित भएको थियो। तेस्रो खेलमा उन फ्रेन्ड्स क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।