टाइगर कप राष्ट्रिय भलिबलको उपाधि गण्डकी र पुलिसलाई

टाइगर कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश र नेपाल पुलिस क्लबले जितेका छन् । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा जित निकाल्दै गण्डकीले पुरुष र पुलिसले महिला तर्फको उपाधि जितेका हुन् ।

शनिबार भएको फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–२को सेटमा पराजित गर्दै गण्डकी प्रदेश पुरुष तर्फको उपाधि जितेको हो । प्रतिस्पार्धात्मक खेलको पहिलो गण्डकीले २५–२२ ले जितेको थियो । दोस्रो सेट आर्मी २५–२१ले जित्यो । तेस्रो सेट गण्डकीले ३२–३०ले जित्यो भने चौथो सेट पुनः आर्मीले २५–२३ ले जित्यो । पाँचौं सेटमा आर्मीलाई १५–११ले हराउँदै गण्डकी च्याम्पियन बन्यो ।

यसैगरी शनिबार नै भएको महिलातर्फको फाइलनमा पुलिसले एपिएफमाथि ३–०को सोझो सेटमा जित निकाल्यो । पुलिसले एपिएफमाथि २५–२२, २५–२२ र २५–२१ को सेटमा जित निकाल्यो ।

दुवै विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गरे । टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगितामा महिला र पुरुषमा समान ४ टिम सहभागी थिए ।

प्रतियोगितामा पुरुषतर्फ गण्डकीका घनश्याम र महिलातर्फ नेपाल पुलिस क्लबकी उषा सर्वोत्कृष्ट खेलाडी घोषित । सर्वोत्कृष्ट दुवैले जनही २० हजार प्राप्त गरे । यस्तै पुरुषतर्फ आर्मीका धनबहादुर भट्ट उत्कृष्ट स्पाइकर, आर्मीकै हरि अधिकारी उत्कृष्ट ब्लकर, गण्डकीका सुजन चोखाल उत्कृष्ट सेटर र गण्डकीका राजन दर्लामी मगर उत्कृष्ट डिफेन्डर चुनिए ।

महिलातर्फ एपीएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, एपीएफकै हिरा केसी उत्कृष्ट ब्लकर, न्यु डाईमण्डकी प्रतिभा माली उत्कृष्ट सर्भर र नेपाल पुलिसकी शान्तिकला तामाङ उत्कृष्ट डिफेन्डर घोषित भइन्। उनीहरुले जनही ५–५ हजार नगद प्राप्त गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.