पोखरामा जारी टाइगर कप आमन्त्रित भलिबल प्रतियोगिताको पुरुषतर्फ विभागीय टिम एपिएफ र आर्मी क्लब विजयी भएका छन्।
पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ । दोस्रो खेलमा एपीएफले अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो खेलमा एपीएफले आर्मीलाई पराजित गरेको थियो ।
एपीएफले पहिलो सेटमा २५–१९ को जितसहित अग्रता बनाएको थियो । दोस्रो सेटमा भने पुलिस २५–२१ ले विजयी भयो । त्यसपछिका दुई सेट एपीएफले २५–१९ र २५–१८ ले सहजै जितेपछि अपराजित यात्रालाई निरन्तरता दिन सफल भयो ।
दुई खेलबाट एपीएफ ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । दुवै खेलमा पराजित पुलिस भने अंकविहीन छ ।
अर्को खेलमा साविक विजेता आर्मीले श्रीलंकन टिम सेन्ट जोसेफलाई ३–० को सोझो सेटमा हराउँदै पहिलो जित दर्ता गरायो । पोखरा रंगशालाकै भलिबल कोर्टमा आर्मी २५–२०, २५–१७ र २५–१० ले विजयी भएको हो । आर्मीले दुई खेलमा ३ अंक जोडेको छ ।