केनले गोल गर्दा टोटनह्याम विजयी, रोकियो लेस्टर

इंग्लिस स्ट्राइकर ह्यारी केनले गोल गरेपछि प्रिमियर लिगमा टोटनह्यामले जित निकालेको छ । मंगलबार राति भएको खेलमा टोटनह्यामले वेष्टह्यामलाई २–० गोलअन्तरले पराजित गरेको हो।

घरेलु मैदानमा टोटनह्यामलाई जिन दिलाउने ह्यारी केनले १ गोल गरे भने अर्को गोल भने टोटनह्यामले उपाहार स्वरुप पाएको थियो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

खेलको ६४औं मिनेटमा आत्मघातीमार्फत टोटनह्यामले अग्रता लियो । वेष्टह्यामका मिडफिल्डर टोमस सउसिकले बचाउन खोज्दा आफ्नै पोष्टमा गोल गरेका थिए। खेलको ८२औं मिनेटमा केनले गोल गरेपछि टोटनह्यामले वेष्टह्याममाथि २–० गोलको जित निकालेको हो।

यो जितसँगै लिगको सातौं स्थानमा उक्लिएको टोटनह्यामको ३१ खेलबाट ४५ अंक छ। लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको ३० खेलबाट ८३ अंक हुँदा दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको समान खेलबाट ६३ अंक छ।

यसैगरी अर्को खेलमा लेष्टर सिटी बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा लेष्टरले ब्राइटनसँग गोलरहित बराबरी खेलेको हो ।

घरेलु मैदानमा गोलकिपर कास्पर नायक बन्दै एक पेनाल्टी बचाएपछि लेष्टरले ब्राइटनसँग बराबरी खेलेको हो । १४औं मिनेटमा निल माउपेको पेनाल्टी कास्परले उत्कृष्ट बचाऊ गरेको थियो ।बराबरीसँगै तेस्रो स्थानको लेष्टरले ३१ खेलमा ५५ अंक जोडेको छ । ३३ अंक जोडेको ब्राइटन १५ औं स्थानमा रहेको छ ।