सनको गोलमा टोटनहमले डिफेन्डिङ च्याम्पियन सिटीलाई हरायो

कोरिया स्ट्राइकर सन ह्युङ मिनको निर्णय गोल मद्दतमा इपिएलमा टोटनहमले विजयी सुरुआत गरेको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा सनको गोल मद्दतमा टोटनहमले डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीलाई १–०ले हरायो।

सिटीले प्रिमियर लिगको सुरुआती खेलमा १० वर्षपछि पराजित भएको हो । यसअघिका १० सिजनले उसले लिगको पहिलो खेल जितेको थियो। यता, टोटनहमले डिफेन्डिङ च्याम्पियनविरुद्ध लिगको पहिलो खेलमा तेस्रो पटक मात्र जित निकालेको छ। यसअघि उसले सन् २०१६–१७मा सिटीलाई र सन् २०१७–१८मा चेल्सीलाई हराएको थियो।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। ५५औं मिनेटमा सनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाए । उनले स्टेफन वर्गविनको लामो पासलाई सदुपयोग गर्दै डिबक्स बहिरबाट उत्कृष्ट गोल गरेका थिए।

खेलमा सिटीले ६६ प्रतिशत बल पोजेसन बनाउँदै टोटनहमको पोस्टमा १८ सट प्रहार गरेको थियो, जसमध्ये ४ सट फ्रेममा थियो। यता, टोटनहमले १३ सट प्रहार गर्दा २ सटमात्र फ्रेममा थियो।

प्रशिक्षक नुनो स्प्रिन्टो सान्टोले जितका साथ टोटनहमबाट लिगको सुरुआत गरे । उनी यसैसिजन वुल्भ्स छाड्दै टोटनहम आएका हुन् । यस्तै, इपिएलकै सबैभन्दा महँगा खेलाडी ज्याक ग्रेलिसले पनि सिटीबाट पहिलो लिग खेल खेले । १ सय मिलियन युरोमा एस्टन भिल्लाबाट सिटी आएका ग्रेलिसले डेब्यू भने गत साता भएको कम्युनिटी सिल्डको फाइनलबाट गरेका थिए।

यसैगरी आइतबार नै भएको अर्को खेलमा वेस्टहमले दुई पटक पछि परेको अवस्टा उल्टाउँदै न्युकासल युनाइटेडमाथि ४–२को जित निकाल्यो । वेस्टहमका लागि आरोन क्रेसवेल, सइद बेनरामा, टोमस सोउचेक र मिचाइल एन्टोनियोले गोल गर्दा न्युकासलका कालुम विल्सन र ज्याकोव मुर्फीले गोल गरेका थिए।