नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक टि–२० सिरिजको ट्रफी सर्वाजनिक गरिएको छ।
शुक्रबार एक कार्यक्रमबीच त्रिकोणात्मक टि–२० सिरिजको ट्रफी नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्यान्ड्सका कप्तान पिटर सिलर र मलेसियाका कप्तान अजिज संयुक्त रुपमा ट्रफी सार्वजनिक गरे।
त्रिकोणात्मक सिरिज वैशाख ४ गतेदेखि ११ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा हुनेछ। प्रतियाेगिताका सबै खेल दिउँसाे १:१५बाट सुरु हुनेछ।
टियू मैदानमा हुने सिरिजको उद्घाटन खेलमा वैशाख ४ गते नेपाल र नेदरल्यान्ड्स भिड्न् छन् । यस्तै, नेपालले दोस्रो खेलमा वैशाख ६ गते मलेसियासँग खेल्ने छ भने तेस्रो खेल खेल नेदरल्यान्ड्ससँग वैशाख ७ गते खेल्नेछ । नेपालले लिग चरणको अन्तिम खेल मलेसियासँग वैशाख ९ गते खेल्ने छ।
प्रतियोगिताका लागि क्यानले सीमित टिकट मात्र बिक्री गरिने जनाएको छ। क्यानका महानिर्देशक रौनक मल्लले सिरिजमा कोरोना भाइरस महामारीबाट जोगिन पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्ने बताए । उनले खेल हेर्ने टिकट डिजिटल प्रविधिबाट लिन सकिने बताए। उनले धेरै दर्शक सहभागी नगराउने र मास्क र सेनिटाइजर अनिवार्य गरिने पनि बताए ।
प्रतियोगितामा सहभागी हुने तीनवटै देशका खेलाडीको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको पनि क्यानले जनाएको छ ।