आहा रारा गोल्डकप : हिमालयन शेर्पालाई हराउँदै आर्मी सेमिफाइनलमा

ए डिभिजन क्लब हिमालयन शेर्पालाई पराजित गर्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार पोखरा रंगशालामा भएको खेलमा हिमालयन शेर्पालाई ३–१ पराजित गर्दै आर्मीले सेमिफाइलनमा स्थान पक्का गरेको हो ।

हिमालयन शेर्पाविरुद्ध आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठले २ गोल गरे भने जर्जप्रिन्स कार्कीले १ गोल गरे । यस्तै हिमलायन शेर्पाका लागि प्याट्रिकले गोल गरे ।

खेलमा सुरुवाती अग्रतालाई जोगाउन नसक्दा हिमालयन शेर्पा सेमिफाइनलमा पुग्न असफल भयो । खेलमा हिमलायन शेर्पाले २७ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । त्रिदेभ गुरुङको पासमा प्याट्रिकले हेडमार्फत आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाए ।

खेलमा १–० ले पछि परेपनि आर्मीले हिमालयन शेर्पालाई निरन्तर दबाद दिइरह्यो । फलस्वरुप ७१औं मिनेटमा आर्मीले खेललाई बराबरीमा ल्यायो । राष्ट्रिय टिमका स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई खेलमा फर्काए ।

७९ औं मिनेटमा नवयुगले व्यक्तिगत दोस्रो गोल गर्दा खेलमा आर्मीले अग्रता लियो । खेलको अतिरिक्त समयमा अर्का स्ट्राइकर जर्जप्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई जित दिलाए ।