क्यारेबियन प्रियिमर लिग (सिपिएल)मा लगातार १०औं जितसहित ट्रिनबागो नाइट राइडर्स शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको लिगको १०औं खेलमा ट्रिनबागोले सेन्ट किट्स एण्ड नेभिट प्याट्रिओट्सलाई ९ विकेटले पारजित गरेको छ ।
पहिला ब्याटिङ गर्दै प्याट्रिओट्सले दिएको ७८ रनको झिनो लक्ष्य ट्रिनबागोले ११.३ ओभरमा १ विकेट मात्र गुमाएर भेट्टायो । ट्रिनबागोका लागि टिओन वेब्स्टरले अविजित ४१ रन बनाए भने अमीर जान्गूले १९ र टिम सेइफ्रेटले १६ रन बनाए । प्याट्रिओट्सका रायद इमरिटले १ विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको प्याट्रिओट्सले १८.२ ओभरमा अलआउट हुँदै ७७ रन मात्र बनाउन सक्यो । उसकादिनेश रामदिनले सर्वाधिक १९, कप्तान इमरिटले १५, इभान लेविसले १२ र अल्जारी जोसेफले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । प्याट्रिओट्सलाई सस्तैमा समेट्ने क्रममा ट्रिनबागोका फवाद अहमदले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । यस्तै अकिल हवसेनले २ विकेट लिए ।
अपराजित रहँदै सेमिफाइनल पुगेको ट्रिनबागोले फाइलन प्रवेशका लागि लिगमा चौथो बनेको जमैका तलावासको सामाना गर्ने छ । यस्तै अर्को सेमिफाइलनमा दोस्रो स्थानको गुयाना अमेजोन वारियर्स र तेस्रो स्थानको सेन्ट लुसिया जुक्स भिड्ने छन् । सेमिफाइलन ८ र ९ तारिखमा हुने छ ।