यू–१७ महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा गरिएको छ। बंगलादेशमा मार्च २० देखि ३१ सम्म आयोजना हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक भगवती रानामगरले २० सदस्यीय अन्तिम टोली घोषणा गरेकी हुन्।
गत नोभेम्बरमा बंगलादेशमै भएको यू–१५ साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको थियो । यस पटक त्यसैलाई अपग्रेड गर्दै यू–१७ च्याम्पियनसिप हुन लागेको हो ।
च्याम्पियनसिपमा दक्षिण एसियाका चार राष्ट्र नेपाल, भारत, बंगलादेश र भुटानसँगै रुस गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । यूईएफए असिस्ट प्रोग्राम अन्तर्गत साउथ एसियन फुटबल फेडेरेसनले आयोजना गर्ने यस च्याम्पियनसिपमा रुस सहभागी भएको हो ।
च्याम्पियनसिपका खेलहरु सिंगल राउण्ड रोविनका आधारमा खेलाइनेछ र लिगको शीर्ष टिम च्याम्पियन बन्ने छ।
नेपालले पहिलो खेल मार्च २० मा भारतसँग खेल्नेछ । यस्तै दोस्रो खेल भुटानसँग मार्च २२ मा, तेस्रो खेल रुससँग मार्च २६ र अन्तिम खेलमा बंगलादेशसँग मार्च २८ मा खेल्नेछ ।
नेपाली टोली : सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी (गोलकिपर) अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बु (डिफेन्डर), माया मास्के, दिपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ (मिडफिल्डर), दीपा रोकाया, वर्षा ओली, सेनु परियार (स्ट्राइकर) ।