यू–१९ एसिया कप क्रिकृेटमा नेपाली टिम पहिलो खेलमा फराकिलो अन्तरले पराजित भएको छ। शुक्रबार युएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा नेपाल टेस्ट मान्यताप्राप्त राष्ट्र बंगलादेशसँग १५४ रनको फराकिलो अन्तरले पराजित भएको हो।
सारजाहमा पहिला ब्याटिङ गर्दै बंगलादेशले दिएको २९८ रनको लक्ष्य पछ्याएको नेपाल ४२.२ ओभरमा १४३ रनमै अलाउट भयो । नेपाल पछिल्ला ४ विकेट २ रन बनाउँदा गुमाएको थियो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ३५ रन बनाउँदा विवेक मगरले ३३ र विवेक यादवले २६ रनको योगदान दिए ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा बंगलादेशमा जन्जिन हसन सकिब, रकिबुल हसन, एसएम मेहरोब र नैमुर रोहमनले समान २ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ४ विकेट गुमाएर २९७ रन बनाएको थियो । उसका प्रान्तिक नबिलले अविजित रहँदै सर्वाधिक १२७ रन बनाए । उनले ११२ बल खेल्दै ११ चौका र १ छक्का प्रहार गरे।
यस्त, रिटायर्ड हर्ट भएका मोहमद फाहिमले ५८ रन जोडे भने एच मोल्लाहले २२, मेहरुब हसन र इफ्ताकर होसेनले समान २१ रन बनाए । नेपालका गुलशन झा, तिलक भण्डारी र मोहमद आदील आलमले समान १ विकेट लिए।