सुदुरपश्चिम प्रदेश काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मंगलबार भएको कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा मधेश प्रदेशमाथि ७ विकेटले हराउँदै सुदुरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरेको हो।
कीर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा मधेश प्रदेशले दिएको १२३ रनको लक्ष्य सुदुरपश्चिमले १८.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।
सुदुरपश्चिमको जितमा दिपक बोहोराले ५८ बलमा ५३ रनको अर्धशतकीय इनिङ खेले । मधेशका लागि अविशेक तिवारीले २ तथा साइमन रोयले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले ३८.१ ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो । उसका अली अन्सारीले ५६ बलमा ३२ रन जोड्दा इम्रान शेखले २८ रन जोडे । अन्य ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन्।
मधेसलाई सस्तैमा समेट्ने क्रममा नरेन साउदले ५ विकेट लिए भने हेमन्त धामीले ३ विकेट लिए।
अपराजित रहेको सुदुरपश्चिमले ५ खेलमा १० अंक जोडेको छ। सबै खेलमा पराजित भएको मधेस अंकबिहीन छ ।
यस्तै, बुधबार नै मुलपानी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशले ८८ रनले हरायो । यो प्रतियोगितामा उसको पहिलो हार हो।
पहिला ब्याटिङ गर्दै लुम्बिनीले दिएको २३५ रनको लक्ष्य पछ्याएको बागमती ३५.३ ओभरमा १४९ रनमै अलआउट भयो । उसका अशोक पौडेले ३१ र प्रतिक श्रेष्ठले २७ रन बनाए ।
लुम्बिनीका दुर्गेस गुप्ताले ४ तथा अभिवेश गौतक र तुलबहादुर थापाले समान २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले ४९ ओभरमा अलआउट हुँदै २३४ रन बनायो । उयसका देव खनालले सर्वाधिक ४६ रन बनाउँदा आकश त्रिपाठीले ४० र दुर्गेस गुप्ताले ३८ रन बनाए। बागमतीका प्रतिक श्रेष्ठले सर्वाधिक ३ विकेट लिए।
यो जितसँगै लुम्बनी ४ खेलमा ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। अझै दुई खेल खेल्न बाँकी रहेकाले उसको फाइनल पुग्ने सम्भावना बाँकी नै छ।
प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ । सिंगल राउन्ड रोविनपछि शीर्ष दुई टोली मंसिर १९ मा फाइनल खेल्नेछन् । प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।