काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार चौथो जित निकालेको छ । चौथो जित निकाल्ने क्रममा सुदूरपश्चिमले प्रदेश १ माथि २१३ रनको विशाल जित निकालेको हो ।
सुदूरपश्चिमले दिएको २६५ रनको लक्ष्य पछ्यााएको प्रदेश १ ले १६.३ ओभरमा अलआउट हुँदै ५१ मात्र बनाउन सक्यो। उसका लागि भुपाल डंगोलले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
प्रदेश १ को इनिङ ध्वस्त बनाउने क्रममा सुदूरपश्चिमका हेमन्त धामीले ५, आकाश चन्दले ३ र मिलन बोहराले २ विकेट हात लिए।
त्यसअघि त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतीमा २६४ रन बनायो । उसका कप्तान अनुराग सिंहले ८३, मिलन बोहराले ६४ रनको योगदान गरे । प्रदेश १ का अभिनय राजबंशीले ४,आशिष मगर र दिपेश कडेलले २÷२ विकेट हात पारे ।
त्यस्तै मुलपानी मैदानमा गण्डकी प्रदेशलाई लुम्बिनी प्रदेशले ४ विकेटले पराजित गर्यो । १६२ रनको लक्ष्य लिएर मैदान उत्रेको लुम्बिनीले ३९ दशमलव २ ओभर खेल्दै ६ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । त्यसअघि पहिलो व्याटिङ गरेको गण्डकी ३६ दशमलव ३ ओभर खेल्दा १ सय ६१ रनमा समेटियो ।