दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको पहिलो खेलमा नेपालले ३०३ रनको विशाल लक्ष्य पाएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ओभरमा ८ विकेको क्षतिमा ३०२ रन बनाउँदै नेपाललाई विशाल लक्ष्य दिएको हो। यो जारी विश्वकपको सर्वाधिक ठूलो लक्ष्य हो।

न्युजिल्यान्डका लागि स्नेहित रेड्डीले शतकीय योगदान दिए। आक्रामक ब्याटिङ गरेका रेड्डी १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै १४७ रन बनाए। यो यू–१९ विश्वकपको व्यक्तिगत उच्च योगफल हो।

यस्तै, कप्तान ओस्कर ज्याक्सनले ८१ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ७५ रन बनाए। ज्याक्सन र रेड्डीले चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै न्युजिल्यान्डलाई विशाल योगफलतर्फ लगेका थिए।

यस्तै, टम जोन्सले ४५ बलमा ३३ रन बनाउँदा लुक वाट्सनले १४ र एलेक्स थम्पसनले १३ रनको योगदान दिए।

नेपालका लागि सुवास भण्डारीले ३ विकेट लिए भने गुल्सन झाले २ विकेट लिए। यस्तै, दीपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले समान १ विकेट लिए।

Back To Top