यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले लगातार तेस्रो जित हात पारेको छ । तेस्रो जित हात पार्ने क्रममा सुदुरपश्चिमले गण्डकी प्रदेशलाई ११३ रनले पराजित गरेको हो ।
टियु क्रिकेट मैदानमा भएको खेलमा सुदुरपश्चिमले दिएको २१४ रनको लक्ष्य पछ्याएको गण्डकी ३२.५ ओभरमा १ सय रनमा अलआउट भयो । उसका गोविन्द विकले २२ तथा अर्जुन कुमालले २० रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्।
गण्डकीलाई सस्तैमा समेट्ने क्रममा सुदुरपश्चिमका मिलन बोहोराले ६ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ४९.३ ओभरमा अलआउट हुदै २१३ रन बनायो । सुदुरपश्चिमका लागि आकाश चन्दले सर्वाधिक ४० रन बनाउँदा कप्तान अनुर्ग सिंहले ३७ रन बनाए। खेलमा गण्डकीका कप्तान सुवास भण्डारीले ३ विकेट लिए।
त्यस्तै आजै भएको अर्को खेलमा कर्णाली प्रदेश विजयी भयो। प्रतियोगितामा पहिलो जित हात पार्ने क्रममा कर्णालीले मधेश प्रदेशलाई २ विकेटले पराजित गरेको हो।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले १ सय ३६ रनको लक्ष्य ३४.४ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो । कर्णालीका लागि मोहन विकले अविजित ३८ रन तथा मनिश थापाले ३२ रन बनाए । अनिरुद्ध कवारले १६ रन जोड्दा सुवास ऐरले १४ रन बनाए । मधेशका लागि रन्जित कुमारले ५ तथा अजित मण्डलले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले ४१.५ ओभरमा अलआउट हुदै १ सय ३५ रन बनाएको थियो ।
प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।