
बंगलादेशमा सबैखेल हारेपछि प्रशिक्षक भट्ट भन्छन्– निराश हुनुपर्ने अवस्था छैन
चार टिम सहभागी बंगबन्धु एसियाली यू–२३ सेन्ट्रल एसियाली जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल चोथो भयो।
नेपाली टिमले लिगका ३ सहित कुल ५ खेल खेल्यो । ५ खेलमा नेपाल पाँचै खेलमा पराजित भयो, चौथो बन्यो । ५ खेलमा नेपाल ३ खेलमा ३–०को सोझो सेटमा पराजित हुँदा दुई खेलमा ३–२को सेटमा पराजित भयो ।
बंगलादेशमा खराब प्रदर्शन गरेपछि पनि नेपाली टिमका प्रशिक्षक जगदिश भट्ट खुसी छन्। पाँचै खेलमा पराजित हुँदै चौथो बनेपछि उनले खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताउँदै पहिलो अनुभव र कमजोर तयारीका बीच बलिया विपक्षीसँग नेपालको प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था नरहेको बताए।
‘चार टिम भएको प्रतियोगितामा हामीले पाँच खेल खेल्न पायौं। यसले हाम्रा खेलाडीलाई धेरै राम्रो भएको छ,’ प्रशिक्षक भट्टले भने, ‘तेस्रो हुन्छौं भन्ने आशा थियो । तर, पाँचौं सेटमा विपक्षी टिमको सर्भिस उत्कृष्ट भएपछि हामीलाई गाह्रो भयो।’
राष्ट्रब्यापी रुपमा खेलाडी छनोट गरी ६ साताको प्रशिक्षणपछि नेपालले प्रतियोगितामा सहभागिता जनाएको हो । यसबीचमा मैत्रीपूर्ण खेलहरु पनि पर्याप्त खेल्न नपाएको प्रशिक्षक भट्टले बताए। त्यसअघि नेपाल भलिबल संघले अहिलेसम्म उमेर समूहको राष्ट्रिय टिम निर्माण गरेको थिएन ।
भट्टले आफूले प्रतियोगितामा उपाधि जित्न नभई अनुभवका लागि सहभागीभ एको बताए । यो प्रतियोगितामा भएका कमजोरीलाई प्रशिक्षणमा सच्याउँदै र आगामी प्रतियोगितामा राम्रो गर्न सकियो भने नेपालको पुरुष भलिबल टिमको भविष्य धेरै राम्रो रहेको भट्ट बताउँछन् ।