भारतको कल्याणीमा जारी यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका शनिबार नेपालर भारत भिड्दै छन् । बिहीबार भएका भएको लिग चरणका अन्तिम खेलमा नेपालले भुटान र भारतले बंगलादेशलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।
शनिबार दिउँसो ३ बजे कल्याणी रंगशालमा हुने फाइलनमा नेपाललाई भारतसँग बदला लिने सुनौलो अवसर छ । यसअघिको दुई फाइलनमा भारतसँग पराजित भएको नेपाललाई त्यो पराजयको बदला लिने अवसर छ । साथै यसै प्रतियोगिताको समूह चरणमा प्राप्त ५–० को नमीठो हारको बदला लिने अवसर पनि रहेको छ ।
यो नेपालको तेस्रो फाइलन यात्रा हो । यसअघिका दुवै फाइलनमा नेपाल भारतसँग पराजित भएको थियो । यस पटक भने नेपाललाई त्यो हारलाई बिर्साउँदै उपाधि जित्न दाउमा छन् । यसअघि नेपाल सन् २०१३ को फाइलनमा १–० र सन् २०१७ को फाइलनमा २–१ले पराजित भएको थियो ।
शनिबार दिउँसो हुने फाइलनमा भारतलाई हराउँदै नेपाललाई पहिलो पटक च्याम्पियन बन्न भने त्यति सहज हुने छैन । किनभने भारत प्रतियोगिताको सबैभन्दा बलियो टिम हो । समूह चरणमा नेपाललाई ५–०ले पराजित गरेकाले पनि कल्याणी रंगशालामा शनिबार मैदानमा उत्रँदा भारतको मनोबल उच्च हुने छ ।
प्रतियोगितामा अपराजित रहने भारत एक्लो टिम हो । यसक्रममा उसले प्रतियोगितामा कुनै पनि गोल खाएका छैन भने विपक्षीविरुद्ध २१ गोल गरेको छ । त्यसैले नेपालले भारतलाई पराजित गर्दै च्याम्पियन बन्न मैदानमा उत्कृष्ट प्रदर्शन गर्न आवश्यक छ ।
लिगमा चारवटै खेल जितेको भारत लिगको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने नेपाल दोस्रो हुँदै फाइनल पुगेको हो । प्रतियोगितामा नेपाल पहिलो खेलमा भारतसँग अप्रत्यासित रुपमा ५–०ले पारजित भएको थियो । त्यसपछिका लागतार तीन खेल जित्दै नेपाल फाइनल पुगेको हो ।
नेपालले श्रीलंकालाई २–० र बंगलादेशलाई ४–१ र भुटानलाई ६–०ले पराजित गरेको थियो । यता, भारतले भने नेपाललाई ५–०, भुटानलाई ७–० र श्रीलंकालाई ५–० र डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई ४–०ले पराजित गरेको थियो ।