कैलालीको धनगढीमा जारी १६ वर्ष मुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका कोशी प्रदेशले जितेको छ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा वाग्मती प्रदेशलाई ३५ रनले हराउँदै कोशी प्रतियोगिताको च्याम्पियन बनेको हो।
खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै कोशी प्रदेशले वर्षाका कारण घटाइएको २५ ओभरको खेलमा ७ विकेट क्षतिमा १७१ रन बनायो । कोशीका लागि एलिस मण्डलले अर्धशतकीय पारी खेल्दै ५३ रन बनाए।
यस्तै सिंवाश बजगाईंले अविजित ३० रन, दिपु भुजेलले २१ रन र आंशीक मगरले २० रन बनाए । वाग्मतीका लागि सुप्रिम हाडा, सार्थक धिताल र अर्थव पौडेलले २/२ विकेट लिए।
प्रतिउत्तरमा वाग्मती प्रदेशले २४ दशमलव ४ ओभरमा सबै विकेट क्षतिमा १३६ रनमात्रै बनाउन सक्यो । उसका लागि सार्थक धितालले ३३ रन, सुर्यांस कोइराला र रोशन विकले २३/२३ रन बनाए।
कोशीका लागि रविन मण्डलले ३ विकेट, सौजन घिमिरे र प्रतिक पोखरेलले २/२ विकेट लिए।
विजेता बनेसँगै कोशीले ट्रफी र दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता वाग्मतीले ट्रफीसहित १ लाख रुपैयाँ प्राप्त गरेको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका वाग्मती प्रदेशका रोशन विक प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए। उनी प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यानसमेत भए। उनले सर्वोकृष्ट खेलाडी भएबापत नगद १५ हजार र उत्कृष्ट ब्याट्सम्यान भएबापत नगद १० हजार प्राप्त गरे । कोशी प्रदेशका कृतिक कामत उत्कृष्ट बलर भए। उनले १० हजार रुपैयाँ पाए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका २४ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर १४ सदस्यीय नेपाली यू–१६ टीम बनाइनेछ। नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको ईस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गरेको हो। एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ ।