यू–१८ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज आयोजक भारतको सामाना गर्दै छ। खेल भारतको जम्सेदपुरमा बेलुका ७ः१५ बजे सुरु हुनेछ ।
यस पटकको प्रतियोगितामा नेपाल, भारत र बंगलादेश मात्र सहभागी छन् । चैत १० गतेसम्म सञ्चालन हुने यो प्रतियोगिता डवल राउण्ड रोविन प्रणालीमा आयोजना हुनेछ । लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।
प्रिती राईको कप्तानीमा रहेको नेपाली टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ । तर यसअघिका संस्करणको अनुभव भएका सीमित खेलाडी मात्र टिममा रहेकाले बलिया प्रतिद्वन्द्वीको सामना गर्नु नेपालका लागि चुनौतिपूर्ण नै हुनेछ ।
२०१८ मा भुटानमा आयोजना भएको पहिलो संस्करणको खेलमा नेपालले भारतलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो । दोस्रो पटक बंगलादेशमा आयोजना भएको प्रतियोगितामा भने नेपालले भारत र बंगलादेश दुवै टोलीसँग पराजित हुन पुगेको थियो ।
समुह चरणबाटै बाहिरिएको नेपालका लागि यस पटक लगातार दुई संस्करणको विजेता टोली बंगलादेश र पछिल्लो संस्करणमा नेपाल भन्दा बलियो देखिएको भारतलाई जित्न कठिन हुनेछ ।
पहिलो संस्करणमा नेपालले भारतलाई पेनाल्टीमार्फत जित निकालेको थियो । खेल १(१ बराबरीमा सकिएपछि पेनाल्टीमा नेपाल ३(१ ले विजयी रहृयो । दुई संस्करणको विजेता बंगलादेशसँग भने नेपालले चैत ३ गते खेल्नेछ ।