°
, June 4, 2023 in

यू–१९ क्रिकेट बाहिरियो प्रदेश १, गण्डकीको पहिलो जित

SHARE:

काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट प्रदेश १ बाहिरिएको छ। बिहीबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा लुम्बनी प्रदेशसँग ६ विकेटले पराजित हुँदै प्रदेश १ प्रतियोगिताबाट बाहिरिएको हो।

यता, ५ खेलमा चौथो जित निकालेको लुम्बिनीको भने फाइनल पुग्ने सम्भावना बाँकी नै छ।

टियु क्रिकेट मैदानमा बिहीबार पहिला ब्याटिङ गर्दै प्रदेश–१ ले दिएको ७० रनको झिनो लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। उसका लागि देव खनालले १९ रन जोड्दा आकाश त्रिपाठीले १७ रन जोडे।
प्रदेश–१ का लागि कप्तान दिपेश कडेलले ३ तथा विपीन महतोले १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २६.२ ओभरमा अलआउट हुँदै ६९ रन मात्र बनाउन सक्यो । उसका लागि शुभम गहतराजले २२ तथा स्टाइन रिजालले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका निर्मल गुरुङले घातक बलिङ गरे। उनले ४.२ ओभरमा ४ रनमात्र खर्चेर ५ विकेट लिए भने दुर्गेस गुप्ताले २ विकेट लिए।

यस्तै, प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित हात पारेको छ । पाँचौ खेलमा पहिलो जित हात पार्ने क्रममा गण्डकीले कर्णाली प्रदेशलाई १ सय ९ रनले पराजित गरेको हो।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले जितका लागि दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको कर्णाली ३० ओभरमा अलआउट हुदै १ सय २५ रनमा समेटियो । त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनायो ।

SHARE: