साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप खेल्न लागेको नेपाली टिमको बिदाई गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रम आयोजना गर्दै २३ सदस्यीय नेपाली टिमको बिदाई गरेको हो। नेपाली टिम मंगलबार बंगलादेश प्रस्थान गर्नेछ।
विदाईका अवसरमा बोल्दै नेपाली टिमका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले टोलीको लक्ष्य उपाधि जित्नु भएको बताए। उनले लीमा हरेक पोजिसनका खेलाडी उत्कृष्ट भएकाले यो पटक उपाधि जित्ने लक्ष्य रहेको बताए ।
कार्यक्रममा कप्तान अञ्जना रानामगरले पनि लक्ष्य उपाधि भएको धारणा राखिन् । साथै उनले उपाधिसँगै बलियो मानिएका भारत र बंगलादेशलाई हराउनु पनि मुख्य लक्ष्य हुने बताइन्। उनले टिमको तयारी राम्रो भएको र प्रशिक्षक पनि राम्रो पाएकाले लक्ष्य प्राप्त हुने विश्वास पनि व्यक्त गरिन्।
यू–१९ साफ च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ सम्म बंगलादेशकोढाकामा आयोजना हुनेछ। प्रतियोगितामा ५ टिमले सहभागिता जनाउने छन्। आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा भाग लिने छन्।
राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल आयोजक बंगालदेशविरुद्ध ११ डिसेम्बरमा खेल्नेछ। नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तथा तेस्रो खेलमा भुटानविरुद्ध १७ डिसेम्बरमा खेल्नेछ। लिगको अन्तिम खेलमा नेपालले भारतविरुद्ध १९ डिसेम्बरमा खेल्ने छ।
नेपाली टिम
अन्जना रानामगर, अन्किता राई, सावित्री किसन, मन्जुकुमारी खड्का, सलोनी राना मगर, सविना चौधरी, प्रतीक्षा चौधरी, खुश्मा राई, विमला विक, मेनुका आले मगर, रोजिना श्रेष्ठ, सुष्मा तामाङ, हिमा रावत, दिपा शाही, सविता रानामगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, रश्मीकुमारी घिसिङ, प्रीति राई, अमिशा कार्की, रजनी थोकर, सदिपा भोलन, कुसुम खतिवडा ।