नेपाली यू–१९ महिला फुटबल टिमको तयारी आइतबारबाट

नेपाली यू–१९ महिला फुटबल टिमको बन्द प्रशिक्षण आइतबारबाट सुरु हुने भएको छ। आसन्न यू–१९ साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–१९ टिमको प्रशिक्षण सुरु गर्न लागेको हो।

यू–१९ साफ च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ सम्म बंगलादेशकोढाकामा आयोजना हुनेछ। प्रतियोगितामा ५ टिमले सहभागिता जनाउने छन्। आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा भाग लिने छन्।

राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल आयोजक बंगालदेशविरुद्ध ११ डिसेम्बरमा खेल्नेछ। नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तथा तेस्रो खेलमा भुटानविरुद्ध १७ डिसेम्बरमा खेल्नेछ। लिगको अन्तिम खेलमा नेपालले भारतविरुद्ध १९ डिसेम्बरमा खेल्ने छ।