इरानसँग भिड्दै यू–२३ नेपाली टिम

एएफसी यू–२३ एसियन कप खेल्ने ताजकिस्तान पुगेको नेपाली टिमले आज इराजनको सामना गर्दै छ। ताजकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने नेपाल र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ।

प्रतियोगिताका लागि नेपाली टिम एक साताअघि ताजकिस्तान पुगेको थियो । अघिकांश सिनियर टिमका खेलाडी समेटिएको नेपाली टिम प्रतियोगितामा सुखद् सुरुआत गर्ने योजनासहित मैदान उत्रनेछ।

इरानविरुद्धको खेलअघि भएको प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक बालगोपाल महर्जनले प्रतियोगितामा राम्रो नतिजा निकाल्न नेपाली टिम तयार रहेको बताएका थिए । उनले भनेका थिए, ‘हाम्रा तीनै विपक्षीहरू गुणस्तरीय टोली छन् । हामीले वास्तविकतालाई स्वीकार गर्नुपर्छ र हामी राम्रो नतिजाको लागि तत्पर छौं । मेरा केटाहरू र म हाम्रो सक्दो प्रयास गर्नेछु ।’

नेपालले यू–२३ एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो। यसअघि नेपालले सन् २०१५ मा इरानसँग उसैको नेपाल ५–० ले पराजित भएको थियो।

छनोटको समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ।