च्याम्पियन्स लिगको ड्र सार्वजनिक, समूह चरणमै थुप्रै रोमाञ्चक खेल

युइएफले यस सिजनको च्याम्पियन्स लिगको ड्र सार्वजनिक गरेको छ। यसपटकको ड्रमा ‘ग्रुप अफ डेथ’ भन्न सकिने कुनै समूह नभए पनि केही कठिन समूह परेका छन् भने समूह चरणमै थुप्रै रोमाञ्चक फिक्स्चरहरु पनि तय भएका छन्।

यसपटकको ड्रमा ग्रुप ‘ए’ र ‘बी’ तुलनात्मक रुपमा कठिन देखिएका छन्। ग्रुप ‘ए’मा गत सिजनको उपविजेता म्यानचेस्टर सिटीसँगै यसपटक च्याम्पियन्स लिग जित्ने मिसनमा लागेको पिएसजी परेको छ। यस्तै, च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्दै अन्डरडग्सका रुपमा छाएको जर्मन टिम आरबी लाइपजिग र बेल्जियन प्रो लिगको क्लब ब्रुग्गे पनि सोही समूहमा छन्।

यसैगरी, समूह ‘बी’मा ला लिगा च्याम्पियन एट्लेटिको मड्रिडसँगै युरोपको पावरहाउस लिभरपुल रहेको छ। आफ्नो पुरानै लय फर्किंदै गरेको इटालियन जाइन्ट एसी मिलान र पोर्चुगलको जाइन्ट किलर टिम पोर्टो पनि सोही समूहमा छन्।

समूह ‘सी’मा पोर्चुगलको स्पोर्टिङ क्लब, जर्मनीको डर्टमन्ड, नेदरल्यान्ड्सको आयाक्स र टर्किस क्लब बेसिक्टास रहेका छन्। च्याम्पियन्स लिगको समूह डीमा इटालियन सिरी ‘ए’को च्याम्पियन इन्टर मिलान र च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब रियल मड्रिड आमनेसामने हुनेभएका छन्। सो समूहमा युक्रेनको सख्तर डोनेस्क र मोल्डोभियन लिगको सेरिफ तिरास्पोल पनि रहेका छन्।

यस्तै, समूह ‘ई’मा जर्मनीको च्याम्पियन बायर्न म्युनिख र स्पेनिस जाइन्ट बार्सिलोनासँगै पोर्चुगलको बेन्फिका र युक्रेनको डाइनामो किभ रहेका छन्। समूह ‘एफ’मा युरोपा लिग च्याम्पियन भिल्लारियलसँगै युरोपाको उपविजेता म्यानचेस्टर युनाइटेड, इटालीको एट्लान्टा र स्विस लिगको योङ ब्वाइज परेका छन्।

यसैगरी, समूह ‘जी’मा फ्रेन्च लिगको लिल्, ला लिगाको सेभिया, अष्ट्रियन बुन्डेसलिगाको साल्जबर्ग र जर्मनीको बुन्डेसलिगाको वुल्फ्सबर्ग परेका छन्। अन्तिम समूह ‘एच’मा डिफेन्डिङ च्याम्पियन चेल्सी र इटालीको सर्वाधिक सफल क्लब युभेन्टर पर्दा रुसको जेनिट र स्विडेनको सर्वाधिक सफल क्लब माल्मो रहेका छन्।

कहिले हुन्छन् खेल?

  • १४ र १५ सेप्टेम्बरः समूह चरण (म्याच डे १)
  • २८ र २९ सेप्टेम्बरः समूह चरण (म्याच डे २)
  • १९ र १९ अक्टोबरः समूह चरण (म्याच डे ३)
  • २ र ३ नोभेम्बरः समूह चरण (म्याच डे ४)
  • २३ र २४ नोभेम्बरः समूह चरण (म्याच डे ५)
  • ७ र ८ डिसेम्बरः समूह चरण (म्याच डे ६)
  • १३ डिसेम्बरः राउन्ड अफ १६ ड्र
  • १५, १६, २२ र २३ फेब्रुअरीः राउन्ड अफ १६ (पहिलो लेग)
  • ८, ९, १५ र १६ मार्चः राउन्ड अफ १६ (दोस्रो लेग)
  • १८ मार्चः क्वार्टरफाइनल तथा सेमिफाइनल ड्र
  • ५ र ६ अप्रिलः क्वार्टरफाइनल (पहिलो लेग)
  • १२ र १३ अप्रिलः क्वार्टरफाइनल (दोस्रो लेग)
  • २६ र २७ अप्रिलः सेमिफाइनल (पहिलो लेग)
  • ३ र ४ मेः सेमिफाइनल (दोस्रो लेग)
२८ मेः च्याम्पियन्स लिग फाइनल (सेन्ट पिटर्सबर्ग स्टेडियम)

द्रष्टव्यः उल्लेखित मितिहरु युइएफएका पूर्वनिर्धारित क्यालेन्डरमा आधारित छन्। प्रतिकुल अवस्था वा विविध कारणले युइएफएले मिति परिवर्तन वा परिमार्जन गर्न सक्नेछ।