युईएफए नेसन्स लिगमा विश्व च्याम्पियन फ्रान्स र डिफेन्डिङ च्याम्पियन पोर्चुगल विजयी हुँदा इंग्ल्यान्ड भने पराजित भएको छ । बुधबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई २–१ले पराजित गर्दा पोर्चुगलले स्वीडेनलाई ३–०ले हरायो । यस्तै, इंग्ल्यान्ड डेनमार्कसँग १–०ले पारजित भयो ।
विश्व च्याम्पियन फ्रान्सले क्रोएसियाविरुद्धको अपराजित यात्रालाई आठ खेलसम्म निरन्तर राख्दै बुधबार यूईएफए नेसन्स लिगमा २–१ को जित निकालेको छ ।
खेलमा केयलिन एमबापले निर्णायक गोल गरे ।
यसैगरी रोनाल्डोविना मैदान उत्रिएको पोर्चुगलले स्वीडेनलाई ३–०ले हरायो । पोर्चुगलको जितमा डिएगो जोटाले २ गोल गर्दा बर्नार्डो सिल्भाले १ गोल गरे । यससँगै लिग एको समूह ३ मा समान १० अंक जोडेका पोर्चुगल शीर्ष स्थानमा छ भने फ्रान्स दोस्रो स्थानमा छ । ।
यसैगरी समूह ‘वान’ मा इटाली र नेदरल्यान्ड्सविरुद्धको खेल १–१ को बराबरीमा टुंगियो । यसै समूहमा पोल्यान्डले बोस्निया–हर्जगोभिनालाई ३–० ले पराजित गर्यो ।
पोल्यान्डका लागि रोबर्ट लेवनडोस्कीले दुई गोल गरे । समूह २ मा इंग्ल्यान्ड भने वेम्बलीमा डेनमार्कसँग १–० ले स्तब्ध रह्यो । खेलको एक मात्र गोल क्रिस्टियन एरिक्सलने पेनाल्टीबाट गरे । यसै समूहमा बेल्जियमले आइसल्यान्डलाई २–१ ले हराएर शीर्ष स्थानमा उक्लियो ।