बार्सा भन्छ क्लब छोडेर जाउ, उम्टिटी भन्छन्, ‘यो सिजन त जाँदिन’

बार्सिलोना लामो समयदेखि फ्रेन्च डिफेन्डर उम्टिटीलाई क्लबबाट निकाल्न प्रयास गरिरहेको छ। यसका दुईवटा कारण छन्– उनले लिने धेरै तलब र उनको घुँडामा लागिरहने चोट।

अहिले बार्साको व्ययभार निकै धेरै छ। त्यसैले बार्सा केही खेलाडीहरुलाई क्लबबाट निकालेर खर्च कम गर्न चाहन्छ। उम्टिटी पनि त्यही सूचीमा परेका हुन्।

गत शुक्रबार बार्साका म्यानेजर रोनाल्ड कोइम्यानले पत्रकार सम्मेलनमा उम्टिटी क्लबमा बस्नुको अर्थ नरहेको पनि बताएका थिए। ‘उम्टिटीले क्लबमै बसेपनि खेल्न पाउने सम्भावना निकै न्यून छ, उनले छाडेकै उत्तम हो,’ कोइम्यानले भनेका थिए।

केही समय पहिले बार्साले उम्टिटीका एजेन्टसँग लामै छलफल गरेको थियो। त्यतिबेला उम्टिटीले क्लब छाड्ने छाँटकाँट पनि देखिएको थियो। तर अहिले भने उनी कम्तिमा एक सिजन क्याम्प नोउमै बस्ने संकेत देखिन थालेको हो।

सामान्यतय ट्रान्सफर मार्केटमा कुनै क्लबले खेलाडी किन्ने इच्छा व्यक्त गर्दै उसको मूल्यांकन बराबरको रकम प्रस्ताव गरेपछि वर्तमान क्लबले खेलाडी बेच्ने नबेच्ने निर्णय गर्दछ। तर, उम्टिटीको केसमा भने बार्सा नै उनलाई किन्ने क्लब खोज्दै हिँडेको थियो।

त्यसरी खोज्ने क्रममा बार्साले उनलाई आबद्ध गर्न तयार रहेका केही क्लबको सूची बनाएर उम्टिटीलाई एउटा रोज्न लगाएको थियो। तर, उनले भने ‘म बार्सामै बस्छु’ भनेर कुनैपनि क्लबमा जान मानेनन्।

उम्टिटीलाई कोइम्यानले स्पष्ट रुपमा जारी सिजनका लागि उनी आफ्नो योजनामा नरहेको बताइसकेका छन्। तर उनी भने बार्साबाटै खेल्छु भनेर तयारी गरिहेका छन्।

यसक्रममा उनले निकै राम्रो व्यावसायीकता र इमान्दारी भने देखाएका छन्। क्लब र प्रशिक्षक दुवैले नराख्न खोजेपनि उनी क्याम्प नोउमै रहँदाको अहिलको समय इमान्दारीताका साथ नियमित प्रशिक्षण गरिरहेका छन् भने आफने घुँडाको समस्या समाधान गर्न कडा मेहनत पनि गरिरहेका छन्। डाक्टरहरुले पनि उनको अवस्थामा निकै सुधार आइरहेको बताएका छन्।

२७ वर्षिय फ्रेन्च मिडफिल्डर आफुले यो सिजन बार्साबाटै मौका पाउनेमा विश्वस्त देखिन्छन्। तर, बार्साका प्रशिक्षक कोइम्यानको सूचीमा भने उनको नाम जेरार्ड पिके, एरिक गार्सिया, रोनाल्ड अराउजो र क्लेमेन्ट लेङ्ग्लेटपछि मात्र आउँछ।

बार्साले उम्टिटीलाई क्लबबाट निकाल्न खोज्नुको मुख्य कारण उनको चोटभन्दा पनि उनले पाउने तलब हो। उनले प्रतिसिजन लगभग ९ मिलियनको हाराहारीमा कमाउँछन्। बार्सा उनलाई टिमबाट निकालेर आफ्नो खर्च कम गर्न चाहन्छ।

उम्टिटीको बार्सासँगको सहमति अवधि सकिन अझै दुई वर्ष बाँकी छ। उनले सहमतिमा क्लब छाड्न नमानेपछि आफैले सम्झौता तोडेर उनलाई क्लबबाट निकाल्न समेत चाहेको थियो। तर, सम्झौता अवधि नसकी खेलाडीको इच्टा विपरित क्लबबाट निकाल्दा निकै ठुलो कानुनी समस्या आइपर्छ। बार्सासँग अहिले त्यो कानुनी लडाइँ लड्ने खर्च पनि छैन।

बार्साले उनलाई दुई वर्ष अवधि छँदै फ्रि एजेन्टका रुपमा रिलिज गरिदिने प्रस्ताव पनि गरेको थियो। यसले उम्टिटीलाई आफुले चाहेको टिम रोजेर जाने स्वतन्त्रता दिन्थ्यो। उनले त्यसरी पनि क्लब छाड्न मानेनन्। उनी जुनसुकै हालतमा यो सिजन बार्साबाटै खेल्ने मनस्थितिमा छन्।

तर, यो सिजन बार्साबाट खेल्नलाई अर्को एउटा समस्या छ– सबै खेलाडीले आफ्नो तलब घटाउनु पर्नेछ। मेसीले आफ्नो आधा तलब घटाउँदा पनि उनले बार्सामा बस्न नमिलेर क्लब छाड्नु परेको थियो। बार्साको अहिले आम्दानीभन्दा खर्च बढी छ। फ्रि ट्रान्सफरमा आएका खेलाडीलाई समेत तलब दिएर पाल्ने पैसा बार्सासँग छैन।

फ्रिमा आएका खेलाडीलाई विधिवत रुपमा दर्ता गर्न जेरार्ड पिकेले केही हप्ता अगाडी आफ्नो तलब नै कटौति गरिदिएका थिए। क्लबको अवस्था देखेर उनले स्वस्फूर्त रुपमा यस्तो निर्ण गरेका हुन्। उनले तलब कटौती गरेपछि मात्र बार्साले तीन नयाँ खेलाडी ला लिगामा दर्ता गर्न सकेको थियो।

यो पनि पढ्नुहोस्ः बार्सिलोनामा सुरु भयो नयाँ ‘गृह युद्ध’!

पिकेसँगै क्लबका अन्य कप्तानहरुले पनि आफ्नो तलब घटाउन सहमति जनाइसकेका छन्। बार्सालाई यो आर्थिक संकटबाट उकास्न पूराना खेलाडीहरुले सकेसम्म प्रयत्न गरिहेका छन्। तर, त्यति मात्र बार्सालाई यो संकटबाट पार पाउन पर्याप्त नहुन सक्छ।

केही दिनमा मिरलेम प्जानिचले बार्सा छाडेर युभेन्टस जाने बताइएको छ। बार्सा उम्टिटी पनि जाउन् भन्ने चाहन्छ। तर, उम्टिटी कुनै हालतमा बार्सा छाड्ने पक्षमा छैनन्। अहिलेलाई यसको एकमात्र समाधान भनेको उम्टिटीले आफ्नो तलबमा व्यापक कटौती गर्नु मात्र देखिन्छ।