सन् २०२२ को कतार विश्वकपको दक्षिण अमेरिकी छनोटमा २ पकटकको विश्व च्याम्पियन उरुग्वे र चिलीले खराब प्रदर्शनलाई निरन्तरता दिएका छन्। छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा उरुग्वे बोलिभियासँग ३–०ले स्तब्ध हुँदा चिली इक्वेडरसँग २–०ले पराजित भयो।
यो हारसँगै उरुग्वे र चिली दुवैको कतार विश्वकप छनोट यात्रा कठीन बनेको छ । दुवै टिमले १४ खेलमा ४ जित, ४ बराबरी र ६ हार बेहोर्दै समान १६ अंक जोडेका छन् । र, तालिकामा क्रमशः छैठौं र सातौं स्थानमा छन्।
छनोटमा राम्रो सुरुआत गरेको उरुग्वे अहिले खराब लयमा छ। उसल पछिल्ला ४ खेल गुमाएपछि उसका विश्वकप छनोट यात्रा कठीन बनेको छ। यसअघि अर्जेन्टिनासँग ३–० र १–० तथा ब्राजिलसँग ४–१ले पराजित भएको थियो।
यता, छनोटमा खराब सुरुआत गरेको चिलीले भने पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको छ। तर, पनि उसको छनोट यात्रा भने संकटमै छ। इक्वेडरविरुद्धको उसको हार ४ खेलपछिको पहिलो हो ।
उरुग्वेविरुद्ध बोलिभियालाई जित दिलाउन जुआन कार्लोसले २ तथा मार्सेलो मार्टिन मोरोनोले १ गोल गरे । कार्लोसले ३०औं मिनेटमा गोल गर्दै बोलिभियालाई अग्रता दियो । ४५औं मिनेटमा मोरोनोले गोल गर्दै बोलिभिको अग्रता दोब्बर बनाए ।
७४औं मिनेटमा बोलिभिया १० खेलाडीमा समेटियो । उसका क्यार्मेलो अल्जारानेजले रातो कार्ड पाएपछि बोलिभिया १० खेलाडीमा समेटिएको थियो । तर, उरुग्वेले त्यसको फाइदा उठाउन सकेन। ७९औं मिनेटमा कार्लोसले नै पुनः गोल गरेपछि बोलिभिया ३–०ले विजयी भयो ।
यसैगरी अर्को खेलमा चिलीविरुद्ध इक्वेडरलाई जित दिलाउन पेर्विस स्टुपिनान र मोइसेस काइसेडोले गोल गरेका थिए। स्टुपिनाले ९औं मिनेटमै इक्वेडरलाई अग्रता दिलाए। १३औं मिनेटमा चिली १० खेलाडीमा समेटियो । उसका अटुरो भिडालले सिधै रातो कार्ड पाएका थिए। त्यसपछि दोस्रो इन्जुरी समयमा काइसेडोले गोल गर्दै इक्डेडरलाई २–०को जित दिलाए।
यो जितले इक्वेडर भने छनोट नजिक पुगेको छ। उ १४ खेलमा २३ अंक जोड्दै तेस्रो स्थानमा छ।