नेपाली राष्ट्रिय महिला भलिबल टिमका सदस्यद्वय उषा भण्डारी र अरुणा शाहीले पल्सर स्पोर्ट्स अवार्डमा दुई महत्वपूर्ण अवार्ड जितेका छन्। युवा भलिबल खेलाडी उषाले पल्सर स्पोर्ट्स अवार्डको सबैभन्दा ठूलो ‘पिपल्स च्वाइस’ अवार्ड जित्दा अरुणा वर्षका सर्वोत्कृष्ट महिला खेलाडी बनिन्।
वर्षभर चर्चामा रहेका खेलाडीबाट भोटिङकमा आधारमा उषाले पिपल्स च्वाइस अवार्ड प्राप्त गरेकी हुन्। यो विधामा क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा पनि नोमिनेशनमा परेका थिए।
वर्षको उत्कृष्ट महिला खेलाडी बन्ने क्रममा अरुणाले दुई महिला क्रिकेटर रुबिना क्षेत्री र सीता रानामगर तथा एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावललाई पछि पारिन्।
अरुणा बंगलादेशमा भएको एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसीपको उपाधि उचाल्ने कप्तान हुन् । उनकै कप्तानीमा नेपालले समूह चरणका ५ खेल र फाइनलमा उज्वेकिस्तानलाई हराएर अपराजित यात्रासहित उपाधि जितेको थियो । उनी यो प्रतियोगितामा बेस्ट सेटर बनेकी थिइन् ।