स्पेनिस ला लिगाका अन्तर्गृत शुक्रबार राति भएका दुई खेलमा भ्यालेन्सिया र रियल मालोर्का विजयी भएका छन्। घरेलु मैदानमा भ्यालेन्यिाले डेपोर्टिभो अलाभेसलाई ३–०ले हराउँदा मालोर्काले इस्पानियोललाई १–० ले हरायो।
घरेलु मैदानमा भ्यालेन्सियालाई जित दिलाउन ड्यानिअल वास, कार्लोस सोलेर र गोन्सालो गुइडेसले गोल गरे। भ्यालेन्सियाले पहिलो हाफमा २ र दोस्रो हाफमा एक गोल गरेको थियो।
तेस्रो मिनेटमै वासले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए । उनले चेरिसेभको पासमा गोल गरेका थिए। पहिलो हाफका इन्जुरी समयको तेस्रो मिनेटका गुइडेसको पासमा सोलेरले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।
पहिलो हाफमा २–०को अग्रता लिएको भ्यालेन्सियाले ६० औं मिनेटमा तेस्रो गोल थप्यो। गुइडेसले म्याक्सी गोमेजको पासमा गोल गरेका थिए। खेलमा अलाभेसले दबाब बनाएपनि गोल गर्न भने सकेन।
यसैगरी अर्को खेलमा मालोर्कालाई जित दिलाउन डानी रोड्रिगेजले निर्णायक गोल गरे। उनले खेलको २७औं मिनेटमा गोल गरेका थिए।
खेलको अन्त्य स्पानियोलले १० खेलाडीमा रहेर गरेको थियो। दोस्रो हाफको इन्जुरी सयममा उसका सर्जी गोमेजले रातो कार्ड पाएका थिए।