कतार विश्वकपको क्वार्टरफाइनलका खेलहरू शुक्रबारबाट सुरु हुनेछ। शुक्रबार राति १२ः४५ मा हुने खेलमा दुई दाबेदार टिम लियोनल मेसीको अर्जेन्टिना र भर्गिल भान डाइगको टिम नेदरल्यान्ड्स भिड्दैछन्।
डच टिमलाई नेतृत्व गरिरहेका स्टार डिफेन्डर भान डाइक आफूहरुको लक्ष्य जित भएकाले मेसीलाई रोक्न मात्र आफूहरु केन्द्रित नहुने बताएका छन्। ‘मेसी सधैं राम्रो खेल्छन्, अहिले पनि राम्रो खेलिरहेका छन् , तर हामी उनलाई रोक्नमा मात्रै केन्द्रि हुनेछैनौं, अर्जेन्टिनालाई हराउन केन्द्रित हुन्छौं,’ खेलअघिको प्रिम्याच कन्फ्रेसमा भान डाइकले भने।
नेदरल्यान्ड्स अमेरिकालाई ३–१ले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो भने अर्जेन्टिनाले नेदरल्यान्ड्ससँगको भेट पक्का गर्ने क्रममा अस्ट्रेलियालाई २–१ले हराएको थियो।
मेसी सर्वकालिन महान् खेलाडीमध्ये एक भएको बताउँदै भान डाइकले उने वर्षौंदेखि त्यो सावित गर्दै आएको पनि बताए । मेसीले करिअरमा जे हासिल गरेका छन् त्यसका कारण उनीप्रति सबैको सम्मान भएको बताए ।
‘उनले पछिल्ला वर्षहरूमा कति सफलता हासिल गरेका छन् भन्ने हामीलाई थाहा छ । तर, यो क्वार्टरफाइनल नेदरल्यान्ड्स भर्सेज मेसी होइन, नेदरल्यान्ड्स भर्सेज अर्जेन्टिना हो,’ भान डाइक भने।