डेब्यु खेलमा भराने चम्किँदा म्यानचेस्टर युनाइटेडले वुल्भ्सलाई हरायो

म्यानचेस्टर युनाइटेडले वुल्भ्सलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ। डेब्यु खेलमा रफाएल भरानेले उत्कृष्ट प्रदर्शनसहित असिस्ट समेत गरेपछि युनाइटेडले वुल्भ्सविरुद्ध तीन अंक जोडेको थियो।

रियल मड्रिडबाट जारी ट्रान्सफर विन्डोमा म्यानचेस्टर युनाइटेड आएका भरानेको असिस्टमा मेसन ग्रिनवुडले गोल खेलको ८०औं मिनेटमा गोल गरेपछि युनाइटेड १–० ले विजयी भएको थियो। असिस्टका अलावा डिफेन्समा पनि भरानेले उत्कृष्ट प्रदर्शन गरेका थिए।

७४ पटक बल पाउँदा उनले ८८ प्रतिशत एक्कुरेसीमा पास वितरण गरेका थिए जसमध्ये ५ वटा पास फाइनल थर्डमा थिए। ५ पटकमध्ये दुईपटक एरियल बल जित्न सफल भएका भराने ३ क्लियरेन्स गर्दै एउटा उत्कृष्ट क्रस पनि विफल बनाएका थिए। वुल्भ्सका कोही खेलाडीले बल ड्रिबल गर्दै उनलाई पार गर्न सकेनन् भने युनाइटेडले क्लिन सिट समेत राख्न सफल भएको छ।

पहिलो हाफमा युनाइटेडलाई पूर्ण दवाबमा राख्न सफल वुल्भ्सले दोस्रो हाफ भने फितलो खेलेको थियो। अट्याकिङ टिम मैदानमा उतारेको युनाइटेडले अपेक्षाकृत आक्रामक खेल भने प्रस्तुत गर्न सकेन।

जितसँगै तीन खेलमा दुई जित र एक बराबरीसहित ७ अंक जोडेको युनाइटेड तेस्रो स्थानमा उक्लिएको छ भने तीनवटै खेलमा पराजित भएको वुल्भ्स गोलअन्तरका आधारमा १८औं स्थानमा छ।