ढोरपाटनलाई हराउँदै पुलिस सेमिफाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लब पाँचौँ एनभिए राष्ट्रिय क्लब भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको खेलमा ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले समूह बीबाट प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

पुलिससँगको पराजयका बाबजुद ढोरपाटनको सेमिफाइनल पुग्ने सम्भावना झिनो मात्र बाँकी छ । यसका लागि मंगलबार हुने खेलमा ढोरपाटनले न्यु डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्नुपर्नेछ । ढोरपाटन पराजित भएको अवस्थामा भने न्यु डायमन्ड सेमिफाइनलमा प्रवेश गर्नेछ । न्यु डायमन्ड र ढोरपाटनको खेलले समूह बीको विजेता र उपविजेता टोलीको टुंगो लाग्नेछ ।

समूह एबाट दुई विभागीय टोली त्रिभुवन आर्मी र एपिएफले प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका छन् । मंगलबार नै यी दुई टोलीबीचको खेलबाट समूह एको पनि विजेता र उपविजेताको छिनोफानो हुनेछ ।

प्रतिस्पर्धामा पुलिसले २५–५, २५–१५, २५–८ को सेटमा सहज जित हात पारेको हो । ढोरपाटनले दोस्रो सेटमा मात्र १० अंक कटाउन सक्यो । नियमित प्रशिक्षणमा रहेको पुलिससँग बाँकी दुई सेटमा ढोरपाटन निकै कमजोर देखियो ।

महिलातर्फ सम्पन्न अर्काे खेलमा भरतपुर मेट्रो खेलकुद परिषद्ले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरमाथि २५–८, २५–९ र २५–१५ को जित निकाल्यो । यसअघि नै समूह चरणबाट बाहिरिसकेको भरतपुर र जावलाखेललाई यो नतिजाले फरक पारेन । आर्मी र एपिएफसँग पराजित भएपछि यी दुवै टोलीको यात्रा समूहगत चरणमै टुंगिएको हो । यद्यपि, भरतपुरले जितसँगै प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।

पुरुषतर्फ यसअघि नै क्वार्टरफाइनल चरणमा स्थान सुरक्षित गरिसकेको आर्मी समूह एको विजेता बनेको छ । नयाँबजार सामाजिक युवा क्लबलाई २५–१५, २५–१७ र २५–१७ को सोझो सेटमा पराजित गर्दै आर्मी समूह विजेता बनेको हो ।

आर्मीसँग पराजित भए पनि नयाँबजार समूह उपविजेताका रूपमा प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । समूह एमा दुवै खेलमा पराजय बेहोरेको आरजी भलिबल ग्रुप भने प्रतियोगिताबाट बाहिरिएको छ ।

पुरुषतर्फको अर्काे खेलमा बुलबुले रारा क्लब जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–१५, २५–२१ र २५–१० ले पराजित गर्दै महŒवपूर्ण तीन अंक बटुल्न सफल भएको छ ।

प्रतियोगिताअन्तर्गत मंगलबार पुरुषतर्फ एपिएफ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र तथा दोस्रो खेलमा नेपाल पुलिस र मणिमुकुन्द भलिबल क्लब भिड्नेछन् । यस्तै, महिलातर्फ पहिलो खेलमा एपिएफ र आर्मी तथा दोस्रो खेलमा न्यु डायमन्ड र ढोरपाटन स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.