प्रदेश १ को लागतार दोस्रो जित, कर्णाली ७६ रनले पराजित

काठमाडौंमा जारी वाई–वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले लागतार दोस्रो जित निकालेको छ। बिहीबार मुलपानीमा भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशमाथि ७६ रनको जित निकाल्यो ।

पहिला ब्याटिङ गर्दै प्रदेश १ ले दिएको २४० रनको लक्ष्य पछ्याएको कर्णालीले ३८ ओभरमा १६३ रनमा अलआउट भयो। कर्णालीका लागि रुपक दाहालले अविजित ४१ रन जोडे। मनिस थापाले ३९ रनको योगदान दिए। प्रदेश १ का श्रवण किस्कुले सर्वाधिक ४ विकेट लिए भने लभ कामतले ३ विकेट लिए।

पहिले ब्याटिङ गरेको प्रदेश १ ले ५० ओभरमा अलआउट हुँदै २३९ रन बनायो। उसका विवेक मेहताले ५९ रन जोडे। उनले ८२ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे । यस्तै, अंकित सुवेदीले ३७, सोनु मण्डलले २५, सोनी अन्सारीले २४ तथा दिपक जोशीले २३ रन जोडे ।

बलिङमा कर्णालीका अनुज चुनारा, रुपक दाहाल र सन्दीप शाहीले २–२ विकेट लिए। प्रकाश जैसी र सुवास ऐयरले एक–एक विकेट लिए ।