यू–१९ राष्ट्रिय क्रिकेट : लुम्बिनीमाथि कर्णालीको फराकिलो जित

काठमाडौंमा जारी बाई बाई यू–१९ राष्ट्रिय क्रिकेटमा प्रतियोगितामा कर्णाली प्रदेशले विजयी सुरुआत गरेको छ। बुधबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा कर्णालीले लुम्बिनी प्रदेशमाथि १४० रनको फराकिलो जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै कर्णालीले दिएको २३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २३.५ ओभरमा अलआउट हुँदै ९२ रन मात्र बनाउन सक्यो । उसका लागि प्रज्वल थापाले २८ रन र दुर्गेश गुप्ताले २० रन बनाउँदा ओपनर आकाश त्रिपाठीले १५ रनको योगदान दिए । अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

लुम्बिनीको इनिङ धरासायी बनाउने क्रममा कर्णालीका प्रकाश जैसीले ५ विकेट लिए भने युनिस सिंहले ३ विकेट र अनुज चुनाराले २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरको कर्णालीले ८ विकेट क्षतिमा २३२ रनको विशाल योगफल बनायो । उसका सुवास ऐरले ९० बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ७६ रन बनाए भने कप्तान निश्चल रावलले ४४ रन जोडे तथा विपिन रावलले ३२ रनको योगदान दिए।

बलिङमा लुम्बिनीका दुर्गेश गुप्ताले ४ तथा विशालविक्रम केसीले २ विकेट लिए।लिन सफल भए।