काठमाडौंमा जारी वाइ–वाइ यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताले सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ। आइतबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको ६७ रनको लक्ष्य सुदूरपश्चिमले १२.१ ओभरमा विना क्षति भेट्टायो । सुदूरपश्चिमको लागि कप्तान खडग बोहराले ४२ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा अविजित ४१ रन बनाए भने नरेश भट्टले १६ रन बनाए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेश १६.५ ओभरमा सबै विकेट गुमाएर ६६ रनमा अलआउट भयो । उसका लागि प्रकाश जैसीले १५, रमेश बुढाले १२ र रुपक दाहालले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कर्णालीको इनिङ ध्वस्त बनाउने क्रममा सुदूरपश्चिमका आकाश चन्द, नारायण जोशी र शेर मल्लले समान तीन विकेट लिए ।
प्रतियोगितामा समान १ जित निकालेका सुदूरपश्चिम र कर्णाली प्रदेशको फाइलन पुग्ने समीकरण कठीन बनेको छ।