क्यानरुनी क्लब एभिनियर एफसी वालिङ गोल्डकप फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको सेमिफाइनलमा आयोजक वालिङ एफसी जुनियरलाई २–०ले हराउँदै एभिनियर फाइनलमा पुगेको हो।
एभिनियरले अब उपाधिका लागि आयोजक वालिङ एफसीको सिनियर टिमसँग खेल्ने छ। वालिङ एफसी एपिएफलाई हराउँदै फाइनल पुगेको हो।
वालिङ एफसी जुनियरविरुद्ध एभिनियरलाई जित दिलाउन टिमबा र शाबाले गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
खेलको ८५औं मिनेटमा टिमबाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको इन्जुरी समयमा शाबाले गोल गरेपछि एभिनियर २–०को जित निकाल्दै उपाधि नजिक पुग्यो।
वालिङ युनाइटेड फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख नगद प्राप्त गर्ने छ भने उपविजेताले २ लाख ५० हजार पाउने छ।