इंग्ल्यान्डमा जारी १२औं संस्करणको विश्वकप क्रिकेटमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाविरुद्ध बंगलादेशले बहादुरीपूर्ण प्रदर्शन गरेको छ । तर, नटिङघममा बिहीबार ३८२ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८ रनले पराजित भयो ।
अस्ट्रेलियाले दिएको ३८२ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले निर्धातिर ५० ओभरमा ८ विकेट गुमाउँदै ३३३ रन बनायो । उसका पूर्वकप्तान मुस्फिकर रहिमले उत्कृष्ट ब्याटिङ गर्दै शतक बनाए । उनी ९७ बल खेल्दै ९ चौका र १ छक्काको सहयोगमा १०२ रनमा नटआउट रहे ।
यसैगरी ओपनर तमिम इक्वाल र मोहम्मदुल्लाहले पनि अर्धशतकीय योगदान दिए । तमिमले ७६ बलमा ६ चौका प्रहार गर्दै ६२ रन बनाए भने मोहम्मदुल्लाहले ५० बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६९ रन बनाए । यस्तै, यसअघिका लागतार दुई खेलमा शतक बनाएका सकिब अल हसन ४१ ब्लमा ४१ रन बनाए आउट भए ।
यो बंगलादेशको एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो स्कोर हो । यसअघि बंगलादेशले सन् २०१४ मार्चमा पहिला ब्याटिङ गर्दै ३२६ रन बनाएको थियो । यो खेल पाकिस्तान विजयी भएको थियो । अस्ट्रेलिया र पाकिस्तानबाहेक ३ सय रन कटाएका ८ खेलमा बंगलादेश विजयी भएको थियो ।
अस्ट्रेलियाका लागि मिचेल स्टार्क, मार्कस स्टोइनिस र नाथन कुल्टर नाइलले समान २ विकेट लिए भने एडम जाम्पाले १ विकेट लिए । बंगलादेशविरुद्धको २ विकेटसँगै स्टार्क प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । ६ खेलमा १५ विकेट लिएका छन् । ४ खेलमा १३ विकेट लिएका पाकिस्तानमा मोहम्मद आमीर दोस्र्रो स्थानमा छन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३८१ रन बनायो । अस्ट्रेलियालाई विशाल योगफल बनाउने क्रममा ओपनर डेभिड वार्नरले सानदार इनिङ खेले । ४४.२ ओभरमा सौम्य सरकारको बलमा रुवेल हसनबाट क्याच आउट हुनुअघि वार्नरले १४७ बल खेल्दै १६६ रन बनाए । उलने १४ चौका र ५ छक्का प्रहार गरे ।
यो प्रतियोगिताकै व्यक्तिगत सर्वाधिक उच्च स्कोर हो । यसअघि अस्ट्रेलियाका कप्तान आरोन फिन्चले १५३ रन बनाएका थिए । बंगलादेशविरुद्धको सानदार इनिङसँगै वार्नर प्रतियोगिमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । २ शतक र २ अर्धशतकसहित वार्नरले ६ खेलमा ४४७ रन बनाएका छन् ।
यो सूचीमा दोस्रो स्थानमा बंगलादेशका सकिब अल हसन छन् । उनले समान २ शतक र अर्धशतकसहित ५ खेलमा ४२५ रन बनाएका छन् । ३९६ रन बनाएका फिन्च तेस्रो, ३६७ रन बनाएका जोए रुट चौथो र ३१९ रन बनाएका रोहित शर्मा पाचौं स्थानमा छन् । सर्वाधिक रन बनाउने शीर्ष ५ ब्याट्सम्यानमा फिन्चबाहेक सबैले समान २ शतक बनाएका छन् ।
अस्ट्रेलियाका अरोन फिन्त र उस्मान ख्वाजाले पनि अर्धशतकीय योगदान दिए । फिन्चले ५१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५३ रन बनाए भने ख्वाजाले ७२ बलमा १० चौका प्रहार गर्दै ८९ रन बनाए । यस्तै, ग्लेन म्याक्सवेलले १० बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३२ रन बनाए ।
बंगलादेशविरुद्धको जितसँगै अस्ट्रेलिया प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । ६ खेलमा ५ जित निकालेको अस्ट्रेलिया १० अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो । अपराजित रहेको न्युजिल्यान्ड ५ खेलमा ९ अंक जोड्दै दोस्रा स्थानमा छ भने ५ खेलमै ८ अंक जोडेको आयोजक इंग्ल्यानड तेस्रो, ४ खेलमा ७ अंक जोडेको अपराजित भारत चौथो र ६ खेलमा ५ अंकसहित बंगलादेश पाचौं स्थानमा छ ।