°
, June 2, 2023 in

विश्वकप लिग–२ अन्तर्गतको नेपालको तेस्रो सिरिज मार्चमा

SHARE:

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आगामी मार्चमा नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज यूएईमा आयोजना गर्ने तयारी भइरहेको छ ।
नेपाल, आयोजक यूएई र पपुआ न्यूगिनी (पीएनजी)बीच अर्को महिना एक दिवसीय सिरिज हुन लागेको हो ।

यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीबाट आधिकारिक घोषणा भने भएको छैन । तर आईसीसीले सिरिज खेल्ने टिमसँग समन्वय भने गरिरहेको छ ।

क्यानका क्रिकेट म्यानेजर विनोद दासले पनि मार्चमा त्रिकोणात्मक सिरिज गर्नेबारे कुरा भएको तर आधिकारिक भइनसकेको बताए । ‘यो प्रस्तावित मिति हो । आधिकारिक भइसकेको छैन । अब मिटिङ बसेपछि निर्णय हुन्छ होला,’ दासले भने ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको समाचार अनुसार उक्त त्रिकोणात्मक सिरिज मार्च १५ देखि २२ सम्म गर्ने तयारी छ । त्यसअघि मार्चमै यूएई, ओमान र नामिबियाबीच पनि सिरिज हुने तयारी छ ।

सन् २०२३ को एक दिवसीय विश्वकपको रोड म्यापको रुपमा रहेको विश्वकप लिग २ मा नेपालले पछिल्लो पटक गत सेप्टेम्बरमा ओमान त्रिकोणात्मक सिरिज खेलेको थियो ।

ओमान र अमेरिकासहितको उक्त सिरिजमा नेपालले २ खेल जित्दा २ खेल हारेको थियो । नेपालले दुई वर्ष घरेलु मैदानमै ओमान र अमेरिका नै सम्मिलित पहिलो लिग २ सिरिज खेलेको थियो ।

७ देशले प्रतिस्पर्धा गरिरहेको विश्वकप लिग २ मा नेपालले अहिलेसम्म जम्मा २ वटा सिरिज खेलेको छ र ८ खेलबाट ८ अंक जोड्दै अंकतालिकामा छैटौं स्थानमा छ । सर्वाधिक २२ खेल खेलेको ओमान १४ जित र नतिजा नआएको एक खेलमा १ अंकसहित २९ अंक जोडेर शीर्ष स्थानमा छ । खेलेका १२ वटै खेलमा पराजित पीएनजी अंकविहीन हुँदै पुछारमा छ ।

SHARE: